दिनप्रतिदिन सुन्नु परेको छ
पार्टी प्रवेशको लहर
तर देशमा उस्तै छ कहर
राजनीतिमा उस्तै छ जहर
अनि पार्टी प्रवेशको के अर्थ
पार्टी फेर्नुको के अर्थ
यहाँ त वंशानुगत रोग छ
वंशानुगत भोग छ
जति तोडे पनि रोडमै मोज छ
अनि किन पार्टी प्रवेशको नाटक
बरु सकिन्छ भने एउटा असल
समाजिक अभियान चलाउ
सबै नागरिकलाई एउटै पार्टीमा प्रवेश गराउ
युग सापेक्ष बदलिने प्रशिक्षण चलाउ
अनि सबै राजनितिक दलको सातो उडछ
वंशानुगत रोगबाट माथि उठ्छ ।
कहिले यो पार्टी त्यागेर त्यो पार्टीमा
कहिले त्यो पार्टी त्यागेर यो पार्टीमा
नागरिकको दिमाग भुटेको छ
कार्यकर्ताहरुको मन फुटेको छ
अन्तमा उहि मुल फर्किएको छ
जुन मुलले नुन खुवाएर मारेको छ
दास बनाएर ब्रह्मलुट मच्चाएको छ ।
प्रवेश बिचारमा हो कि सिद्धान्तमा
जातमा हो कि भातमा
थाहा छैन्
कुदेको छ, कुदेको
फेरेको छ, फेरेको
तर अवस्था कहि पनि फेरिएको छैन्
अनि त्यस्तो कुदाईको के अर्थ
सबै पार्टीमा पारिवारिक प्रवेश
मिलिजुली खाने देश
एउटै कार्यकर्ताको खल्तीमा दर्जनौं पार्टी सदस्यता
अनि समाजमा कसरी पैदा हुन्छ एकता
यही जनता यो पार्टीको कार्यक्रममा
त्यही जनता त्यो पार्टीको कार्यक्रममा
जनसागर फेरि उहि र उस्तै
कहाँबाट फल्छन् यति मान्छे
आकाशबाट झर्छन् कि पतालबाट उम्रिन्छ
थाहै नपाई दौडिन्छन्,
नागरिक त सोझा सिधा अबुझ प्राणी हो
जे गरे नि हुन्छ
राजनीतिक स्वार्थ पुरागर्न जसरी मारे नि हुन्छ ।
ब्यबस्था जति फेरिए पनि अवस्था उस्तै
सतामा सामन्त र जमिन्दारको कथा त्यस्तै
यो राजनीतिक क्रम पुरानै हो
कुनै नयाँ क्रम होइन,
त्यसैले, बरु पुराना पार्टीहरुको
एकछत्र राज तोडिएको सुन्न पाउँ
बदलिएको खबर पाउँ
अनि नयाँ युगसापेक्ष विचारहरुको
एकछत्र राज हेर्न पाउँ
अनि बदलिएको रहस्य थाहा हुन्छ
अनि फेरिएको मन थाहा हुन्छ ।
यो खिचडी राजले
देश पनि खिचडी
नागरिक पनि खिचडी
यस्तो खिचडीमा
पुरै अधिकारको कुरा गर्नु
अनि न्याय र समानताको कुरा गर्नु
आकाशको फल आँखातरी मर जस्तै हो ।
त्यसैले,
यस्तो विचारविहिन पार्टी प्रवेशको कुनै अर्थ छैन्
प्रवेश त युगबोध निति, सिद्धान्त र विचारमा हुने हो
हचुवाको भरमा उड्ने होइन
त्यसैले कचुवा छ हाम्रो समाज ।
९ २०७६ । ९ । ९ लहान, सिराहा