शम्भु चौधरी, लहान २४ कार्तिक । लक्ष्मीपुर पतारी गाउँपालिका २ डोमी चौधरी प्राविधिक धार मा वि पोखरभिण्डाको खेलमैदानमा सोमबारदेखि तेस्रो अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता २०८३ सञ्चालन भएको छ।
गढीमाई युवा क्लबद्वारा आयोजित उक्त खेल प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले गर्नुभएको थियो। खेल उदघाटन गर्दे अध्यक्ष ठाकुरले भने स्वास्थ्य रहनको लागी खेल आवश्यक चिज हो । खेलबाट लागु औषध जस्ता कुलतमा लागेका युवाहरुको मनोबृति परिवर्तन गर्ने उपाय पनि हो ।
यस प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान, खेलकुदको विकास तथा युवाहरूमा आपसी सद्भाव र एकताको भावना अभिवृद्धि गर्ने विश्वास लिएको स्थानिय युवा नेता किरण रायले बताए ।
उद्घाटन खेल धरमपुर एफसी सिरहा र महुलिया एफसी सप्तरी विच भएको थियो ।
खेल निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो। निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । महुलिया एफ सि लाई पराजित गर्दै धरमपुर एफ सि ले शानदार जित हासिल गरेको छ ।
खेलप्रेमी दर्शकहरूको बाक्लो उपस्थिति र खेलाडीहरूको उच्च मनोबलले आजको उद्घाटन खेल यादगार बनेको छ।

