शम्भु चौधरी, लहान, २१ कात्तिक । लहान नगरपालिका–१२ भोटियाटोल चौकमा सुविधा सम्पन्न ‘घोङ्हि’ होटलको विस्तार गरी विधिवत् रूपमा शुक्रबार देखि सञ्चालनमा आएको छ।
दिनेश होटलद्वारा सञ्चालित उक्त होटलको उद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गर्नुभएको हो।
विगत एक वर्षदेखि मिथिला थालीको फरक स्वाद पस्किँदै आएको दिनेश होटलले आफ्नो सेवा विस्तार गर्दै घोङ्हि नामबाट नयाँ होटल सञ्चालनमा ल्याएको हो। होटलले यसअघि १४ प्रकारका परिकार समावेश गरिएको मिथिला थाली मात्र १५० रुपैयाँमा उपलब्ध गराउँदै आएको थियो।
नयाँ होटलमा मिथिला परिकारसँगै थारू समुदायका विशेष तथा मौलिक खानाका परिकारलाई समेत प्राथमिकता दिइएको सञ्चालकले बताएका छन्। ग्राहकको रुचिअनुसार शाकाहारी तथा मांसाहारी दुवै प्रकारका खानाको व्यवस्था गरिएको छ।
होटलमा स्वादिष्ट खानाका साथै ग्राहकलाई बस्ने र रहने सुविधासमेत उपलब्ध गराइएको छ। स्थानीयस्तरमै मौलिक स्वादका विभिन्न परिकार चाख्न चाहने ग्राहकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको होटेल संचालक दिनेश साहले बताए ।
मिथिला र थारू समुदायको खानपान तथा मौलिक संस्कृतिलाई खानाका परिकारमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा आएको यस होटलले लहान क्षेत्रको होटल तथा पर्यटन व्यवसायमा थप आकर्षण बढाउने अपेक्षा गरिएको छ।

