जिबनसैली · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · सामाज

समाजसेवी यादवद्वारा ढेकहामा झुल वितरण

शम्भु चौधरी लहान १९ कार्तिक। नवराजपुर गाउँपालिका–१ स्थित ढेकहामा समाजसेवी जयकिशोर यादवले स्थानीय घरपरिवारलाई झुल (मच्छरदानी) वितरण गरेका छन्। लामखुट्टेको टोकाइबाट फैलिने विभिन्न रोगबाट बच्न तथा स्थानीयवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उनले झुल वितरण गरेका हुन्।

केही महिनायता समाजसेवी यादवले नवराजपुर गाउँपालिकाभरि झुल वितरण अभियान सञ्चालन गर्दै आएका छन्। अभियानअन्तर्गत विभिन्न वडाका विपन्न तथा स्थानीय घरपरिवारलाई लक्षित गरी झुल वितरण गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन्।

यादवको यस अभियानबाट हालसम्म गाउँपालिकाका १ हजारभन्दा बढी घरपरिवार लाभान्वित भइसकेका छन्। लामखुट्टेको प्रकोपबाट जोगिन र सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरण गर्न झुल प्रभावकारी हुने भएकाले उनले यसलाई सामाजिक सेवाको महत्वपूर्ण अभियानका रूपमा अघि बढाएका छन्।

स्थानीयस्तरमा स्वास्थ्य सचेतना र जनताको दैनिक जीवनमा प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको यादवको यो अभियानले सकारात्मक सन्देश दिएको छ। सामाजिक उत्तरदायित्व बहन गर्दै उनले सञ्चालन गरेको झुल वितरण अभियानप्रति स्थानीयवासीले प्रशंसा व्यक्त गरेका छन्।