शम्भु चौधरी लहान, १५ कार्तिक । दशौँ राष्ट्रिय खेलकुद प्रतिेयोगिता–२०८३ मा सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनौट गर्ने उद्देश्यले जिल्ला स्तरीय कबडी, बुद्धिचाल, टेबलटेनिस, भाडोतोलन र महिला तथा पुरुष भलिबल प्रतियोगिता गरि जम्मा पाँच विधामा आईतबार खेलाडी छनौट प्रकृया लहानको विभिन्न खेल मैदानमा सम्पन्न भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, खेली मधेस, जिती मधेस’ भन्ने मूल नाराका साथ जिल्ला खेलकुद विकास समिति सिरहाको आयोजनामा कार्तिक १५ गते लहान स्थित विभिन्न खेलमैदानमा सञ्चालन गरिएको हो।
कबडीमा महिला तर्फ निरण कुमारी चौधरी, आरती सिंह महतो लगायत १० र पुरुष तर्फ रबिन्द्र यादव, शिव दास गरि १० जम्मा २० खेलाडी छनौटमा परेको प्रशिक्षक बिरेन्द्र कुमार यादवले बताए । महिला भलिबलमा सुप्रिया चौधरी, निशा चौधरी लगायत १० र पुरुष भलिबलमा आर्यन चौधरी, सन्देश चौधरी गरि १० र जम्मा २० खेलाडी छनौटमा भलिबल संघका अध्यक्ष देवनारायण चौधरीले बताए ।

कार्यक्रमबाट छनौट भएका खेलाडीहरु प्रदेश स्तरीय खेलमा भाग लिन सक्ने आयोजक समितका अध्यक्ष श्रवण ठकुरीले बताए । जिल्लामा लुकेर रहेका खेल प्रतिभाको पहिचान गरी राष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्यले छनौट प्रतियोगिता आयोजना गरिएको अध्यक्ष ठकुरीले बताए ।
यस्ता प्रतियोगिताले खेलाडीहरूमा प्रतिस्पर्धात्मक क्षमता, अनुशासन, आत्मविश्वास र खेलप्रतिको आकर्षण बढाउनुका साथै सिरहा जिल्लाको राष्ट्रिय खेलकुद क्षेत्रमा पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रवण ठकुरी, बुद्धिचालका जिल्ला उपाध्यक्ष आशिष झा भलिबल संघका अध्यक्ष देव नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो।
जिल्ला खेलकुद विकास समिति सिरहाका अध्यक्ष श्रवण ठकुरीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

