शम्भु चौधरी लहान, १६ कात्तिक । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा सहभागिता जनाउने महिला फुटबल खेलाडी छनोट प्रक्रिया सोमबार धनगढीमाई न पा १३ को डाबर खेलमैदानमा सम्पन्न भएको छ।
आगामी मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी महिला फुटबलतर्फ उत्कृष्ट खेलाडी छनोट गर्ने उद्देश्यले सञ्चालन गरिएको छनोट प्रक्रिया पूरा भएको हो।
छनोट प्रक्रिया मार्फत मौसमी थापा मगर, सुमन चौधरी,करिना पुलामी मगर लगायत १८ जना खेलाडी छनौटमा परेको आयोजक समितिका अध्यक्ष श्रवण ठकुरीले बताए । छनोट भएका खेलाडीहरूले सम्बन्धित प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन्। राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित छनोट भएका खेलाडीलाई आवश्यक प्रशिक्षण तथा तयारीमा सहभागी गराइने अपेक्षा गरिएको छ।
खेलाडीहरूको खेल कौशल, शारीरिक क्षमता, अनुशासन, खेलप्रतिको लगनशीलता तथा प्रतिस्पर्धात्मक प्रदर्शनलाई मूल्याङ्कन गरिएको जनाइएको छ।
महिला फुटबलको विकास, नयाँ प्रतिभाको पहिचान तथा राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले छनोट प्रक्रियालाई महत्त्वपूर्ण रूपमा लिइएको छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने तयारी गरिएको छ। प्रतियोगितामा विभिन्न ३२ खेल विधा समावेश गरिएका छन्।
महिला फुटबल खेलाडी छनोट प्रक्रिया सम्पन्न भएसँगै राष्ट्रिय प्रतियोगिताका लागि तयारीको अर्को चरण अघि बढेको छ।

