काठमाडौँ ३ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् ।
सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया दिएका हुन् ।
‘अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार हो । यो सरकार आलोचना गर्न पनि लायक रहेन,’ उनले भने, ‘जसको हातमा नायवी छ, पर्दा पछाडि छ के भन्नु ? जो अगाडि छ, विचारा अर्काले चलाएको नायवीमा चलेको छ के भन्नु ? त्यो हालतमा छ ।’
बुधवार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उनले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दाबीसमेत गरे ।
‘साँच्ची यो सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्छ नेपालमा ? कसले चलाएको छ कसले,’ उनले भने, ‘भित्रकाले चलाएका छन् कि बाहिरकाले चलाएका छन् ? पर्दा पछाडिकाले चलाएका छन् कि पर्दा अगाडिकाले ? यस्तो स्थितिमा छ ।’
अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताए । ‘यस चुनावबाट च्याँखेहरूलाई पनि आउट गरिदिनु पर्छ । यी च्याखे रहे भने फेरि गठबन्धन भन्यो एउटा गर्यो लडाईं नेकपा एमाले र कांग्रेसका बीचमा छ,’ उनले भने, ‘वैचारिक, सांगठानिक सबै हिसाबको लडाईं हाम्रो बीचमा छ । अनि कसैलाई भयो जस्तो भएन भने पार्टी फोड्यो अनि एउटा पुच्छर समात्यो अनि च्याँखे थाप्यो । यो च्याँखेहरुलाई चाहिँ अन्त्य गर्नुपर्छ ।’
अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने दाबी गरे ।
‘हामीलाई चिन्ता छ । अहिले हेर्नुस् त अदालत अत्यन्त मर्यादित हुनुपर्ने होइन र ? जनताले केही भएन भने पनि अदालतमा न्याय पाउँछु भन्ने विश्वास गर्नुपर्ने होईन ?,’ उनले भने, ‘हेर्नुस् त महाअभियोग पनि लाग्न सक्छ भनेका छन् । जनस्तरबाट राजीनामा गर भनेका छन् । के–के आरोप छ, तपाईं हामी जम्मै सुनिराखेका छौं । लोकतन्त्रको साह्रै महत्त्वपूर्ण कुरा के हो भने अदालतप्रतिको जनविश्वास । त्यो त आज धराशायी भएको छ ।’
न्यायिक निकायहरुको, अर्धन्यायिक निकायहरुको, निर्णय गर्ने संस्थाहरुको मर्यादामा लोकतन्त्र अडेको उनको भनाइ छ । ‘संविधान, कानूनको कार्यान्वयनमा कानूनको राज छ भन्ने विश्वासका आधारमा लोकतन्त्र जीवित हुने गर्दछ,’ उनले भने, ‘जनताप्रति सरकार इमान्दार छ भन्ने कुरामा जनता विश्वस्त हुनुपर्दछ । देशप्रति सरकार इमान्दार छ भन्ने कुरा विश्वस्त हुनुपर्छ । तर, त्यो स्थिति छैन ।’
अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन् ।