स्वास्थ्य

कोरोना देखिएन भनेर आनन्दले नबसौं : सां‌सद गगन थापा

काठमाडौं २३ फागुन/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले कोरोना संक्रमणबाट बच्चनका लागि एकीकृत कार्यसञ्चालन गर्न र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।

अहिलेसम्म नेपालको सुखद अवस्था भए पनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने भन्ने सन्दर्भमा पनि समयमै सोच्नुपर्ने उनले उल्लेख गरे । सीमामा चेक जाँचको क्षमता, स्वास्थ्य चेक जाँचको क्षमता लगायत विभिन्न कारणले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको भन्दै सां‌सद थापाले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदाय लगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता औल्याए ।

सबै देशले आवश्यक तयारी गरेको र भिसा रद्द पनि गर्न थालेको उल्लेख गर्दै उनले नेपालभन्दा बाहिरबाट नेपाल आउनेहरुको ट्रयाकिङ गर्न आवश्यक रहेको बताए । उनले मन्त्रालयअनुसारका कुरा बाहिर आउँदा सर्वसाधरणमा त्रास र द्विविधा बढाएको भन्दै एकद्वार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गर्न पनि आग्रह गरे ।

विवाह ब्रतबन्ध, भोजभतेर र सभासम्मेलन रोक्न भने पनि विद्यालय खुल्ला भएको , संसद बैठक सञ्चालन भइरहेको, सरकारकै मन्त्री विदेश भ्रमणमा रहेको भन्दै सरकारलाई एकद्वार प्रणालीबाट सूचना सम्प्रेषण गर्न र विदेशबाट फर्किएकाको राम्रो चेकजाँचको व्यवस्था गर्न आग्रह गरे ।

विदेशी नागरिक नआउने, सभा सम्मलेन नगर्ने भन्नेवित्तिकै, होटल, एयरलायन्ससँगै बैंकलगायत मुलुकका विभिन्न क्षेत्र प्रभावित हुने भन्दै सा‌ंसद थापाले आवश्यक तयारी गर्न आग्रह गरे ।

बढी जानकारी भए पनि मानिस त्रसित हुने भन्दै उनले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी रहेको तथा कोरोनाका कारण कुनै पनि सामाग्रीको आपूर्तिलाई तलमाथि गर्न दिन्नौ भनेर सरकारले जनतालाई आश्वस्त गर्नुपर्ने बताए ।

उनले कालाबजारी अन्त्य गर्नका लागि प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरे । खाली रहेका भवनलाई आवश्यक पर्दा प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न, क्रिटिकल केयरको वेड विस्तार गर्न, अस्पताललाई आधारमा राखेर काम गर्नुपर्ने कामहरुको सूची तयार पार्न सांसद थापाले आग्रह गरे ।

‘सचेत रहने हो तर्सने होइन । नागरिकलाई नर्तसाउँ । भयभीत पनि नबनाउँ । नेपालका एउटा पनि केस नदेखिएको कुराले आनन्दले नबसौं । हामीले समयको सुविधा पायौं । इरानले पाएन । कोरियाले पाएन । तर कोरियासंग क्षमता थियो । हामीले पाएका छौ । हामीले अहिलेकति मात्रै सुझबुझ पुर्‍यायौं भने आत्तिनु पर्दैन’ उनले भने ।

सांसद थापाले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावको सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डाक्टर नारायण खड्काले समर्थन गरेका थिए ।

सांसद राजभण्डारीले आवश्यक तयारी नगरेको र कोरोना मुक्त घोषणा गरेका कारण पनि विश्वस्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको भन्दै आवश्यक सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराए । कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा चीन सरकारसंग वार्ता गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले चीनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेकामा उनले आपत्ति जनाए ।

त्यसैगरी सासद राजेन्द्रमार केसीले सरकारले केही तयारी गरेपनि पर्याप्त नभएको भन्दै समयमै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए । धेरै साधन सम्पन्न मुलुकमा स्कुल बन्द भईसकेको अवस्था रहेको उल्लेख गर्दै उहाँले संसार नै त्रसित भएको अवस्थामा तयारी अपुग भयो भने मुलुकले धेरै क्षति व्यहोर्नुपर्ने तर्फ समयमै सचेत हुन आग्रह गरे ।

सां‌सद नारायण खड्काले कोरोना संक्रमणको त्रासले बजारमा औषधी , मास्क र सेनिटाइजरसंगै दैनिक खाद्य सामाग्रीको अभाव देखिन थालिसकेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे ।

सांसद थापाले प्रस्तुत गरेको सार्वजनिक महत्वको प्रस्तावमा “विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससंग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोनाविरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले” भन्ने उल्लेख छ ।