नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · स्वास्थ्य

लहान नगर अस्पतालको निर्माण कार्य अन्तिम चरणमा

शम्भु चौधरी,लहान १६ असोज । लहान नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालको भौतिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अस्पताल भवन निर्माणको अधिकांश काम सम्पन्न भइसकेको र बाँकी काम समेत तीव्र गतिमा अघि बढिरहेको नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले बताए।

स्थानीय नागरिकलाई आफ्नै नगर क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको अस्पताल सञ्चालनमा आएपछि लहान तथा आसपासका सर्वसाधारणलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

१८ करोडको लागतमा निर्माण भई रहेको अस्पताल कार्तिक मसानत सम्ममा निर्माण कार्य पुरा भई पालिकालाई हस्तान्तरण गर्ने मल्टिटच कन्ट्रक्सन एण्ड सप्लार्यसले बताएका छन । अस्पताल भवनमा आवश्यक संरचना निर्माण, कोठा व्यवस्थापन, विद्युत् तथा खानेपानी लगायतका कामलाई अन्तिम रूप दिने कार्य भइरहेको समेत जानकारी दिएका छन।

निर्माण सम्पन्न भएपछि आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण तथा सेवा व्यवस्थापन मिलाएर हस्तान्तरण गरिएको १५ दिन पछि अस्पताल सञ्चालनमा ल्याउने तयारी भईरहेको नगर प्रमुख चौधरीले बतए।
नगर अस्पताल सञ्चालनमा आए पछि सामान्य उपचारदेखि विभिन्न स्वास्थ्य सेवासम्म स्थानीय स्तरमै उपलब्ध हुने र स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सहज हुने विश्वास गरिएको छ।

खास गरी गर्भवति महिला तथा बच्चाहरुलाई महगो उपचारको लागी धरान तथा बिराटनगर जस्ता ठाउँमा महिनौ बसेर उपचार गराउनु पर्ने बाध्यताबाट मुक्त हुने नगर प्रमुख चौधरीले बताए ।

नगरपालिकाले बाँकी निर्माण तथा व्यवस्थापनका कामलाई समयमै सम्पन्न गरी अस्पताललाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएको छ।