नेपाल पोस्ट दैनिक बिशेष · समाचार · स्वास्थ्य

सुखीपुरमा १५ शैय्याको आधारभूत नगर अस्पताल सञ्चालन

शम्भु चौधरी लहान २२ असोज। सुखीपुर नगरपालिकामा संघीय सरकारको करिब १९ करोड १५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको १५ शैय्याको आधारभूत नगर अस्पताल विहिबार देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

अस्पताल सञ्चालनमा आएसँगै सुखीपुर नगरपालिका सहित आसपासका करिब आधा दर्जन स्थानीय तहका सयौं स्थानीयवासीले आफ्नै क्षेत्रबाट स्वास्थ्य सेवा पाउने भएका छन्। आधारभूत स्वास्थ्य सेवाका लागि टाढाका अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

यसअघि यस क्षेत्रका स्थानीयवासी सामान्यदेखि आकस्मिक स्वास्थ्य समस्या पर्दासमेत उपचारका लागि टाढा–टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था थियो। स्थानीय स्तरमै १५ शैय्याको अस्पताल सञ्चालनमा आएपछि समयमै स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने स्थानीय रामगुण साहले बताए।

उदघाटन समरोहका प्रमुख अतिथि मधेश प्रदेशका पुर्व स्वास्थ्य मैत्री शत्रुधन प्रसाद सिंह कोईरी रहेको थियो । प्रमुख अतिथि कोईरीका अनुसार संघीय सरकारको लगानीमा निर्माण भएको अस्पतालमा आधारभूत तहका स्वास्थ्य सेवा उपलब्ध हुने बताइएको छ। अस्पताल सञ्चालनसँगै स्थानीय बासिन्दालाई स्वास्थ्य उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता कम हुने तथा स्वास्थ्य सेवामा पहुँच विस्तार हुनु का साथै नगर अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका नागरिकले आधारभूत उपचारका लागि बाहिरी जिल्लाका अस्पतालमा निर्भर हुनुपर्ने अवस्थाबाट क्रमशः राहत पाउने अपेक्षा गरिएको बताए।

सुखिपुर निवासी लक्षमण चौधरीले १ बिघा १ कठठा १ धुर जग्गा दान दिए अनुरुप अस्पताल निर्माण भएको हो । नगर अस्पताल सञ्चालनमा आएपछि विशेषगरी सुखीपुर र आसपासका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक लाभान्वित हुने भएका छन्। अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आवश्यक जनशक्ति, औषधि तथा उपकरणको नियमित उपलब्धता सुनिश्चित गर्न सके स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने सुखिपुर नगरपािलकाका नगर प्रमुख रामऔतार यादवले बताए।

कार्यक्रममा जग्गा दाता परिवारलाई नगर प्रमुख यादव तथा प्रमुख अतिथि कोईरीद्धरा दोसल्ला तथा समान्न पत्रबाट समानित गरिएको छ ।