शम्भु चौधरी,लहान, २० असोज । लहान नगरपालिकाको आयोजना तथा एस ओ एस बालग्रामको सहयोगमा लहान नगरपालिका–१२ स्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
स्थानीय बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका स्थानीय नागरिक तथा विद्यार्थीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए। शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि तथा स्वास्थ्यसम्बन्धी सुझाव प्रदान गरेका विधालयका प्रअ मनोज कुमार यादवले बताए।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट स्थानीयवासी लाभान्वित भएका छन्। शिविरले ग्रामीण तथा विपन्न समुदायमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
लहान नगरपालिका र एस ओ एस बालग्रामको सहकार्यमा आयोजित उक्त शिविरले स्थानीय तह, सामाजिक संस्था तथा समुदायबीचको सहकार्यबाट नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी स्वास्थ्य सेवा सञ्चालन गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ।
शिविरमा सहभागी स्थानीयवासीले आफ्नै क्षेत्रमा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने लहान १२ का वडा अध्यक्ष बद्री नारायण चौभरीले बताए ।
शिविर संचालन मै रहेकोले बिरामीको विवरण आउन बाकी रहेको छ ।
