काटमाडौँ १६ माघ । ख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी (हाल निलम्बित) राजेन्द्र बस्नेतविरुद्ध ९ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
निज बस्नेतले गैरकानूनीरूपमा ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ गैरकानूनीरूपमा आर्जन गरेको देखिएकाले सोही बराबर बिगो कायम गरी बिहीवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति मार्फत जनाएका छन् ।
‘भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगोबमोजिम जरिवाना र कैद सजायको साथै निजले स्रोत पुष्टि गर्न नसकेको एवं गैरकानूनी रूपमा आर्जन गरेको रू. ८ करोड ९८ लाख ५८ हजार ६१३ समेत जफत समेत गरी पाउन निजकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारका प्रवक्ता कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बस्नेतले २०४५ साल कात्तिकमा कार्यालय सहयोगी पदमा जागिर शुरू गरेयता पारिश्रमिकदेखि अन्य पारिवारिक आम्दानीसमेत गरी वैधरूपमा जम्मा ७४ लाख ७३ हजार ३ सय ७३ आर्जन गरेको देखिएको थियो । बाँकी ८ करोड ९८ लाख ५८ हजार ६१३ रुपैयाँको स्रोत खुल्न नसकेपछि भ्रष्टाचार मुद्दा दायर गरिएको हो । लोकान्तरबाट
