कास्की १२ पुस । २०६६ सालमा भने रंगशाला परिसरमा क्रिकेट मैदानको निर्माण थालियो। क्रिकेटले रंगशाला परिसरमा भिरालो जग्गा पायो। तर पोखरामा बन्दै गरेको भाटभटेनी कम्प्लेक्स निर्माण गर्दा निस्किएको माटोबाट मैदान तयार पारियो। त्यसपछि बल्ल क्रिकेट मैदानको स्वरुप देखिन थाल्यो। लगत्तै पोखराले महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनको अवसर पायो। त्यतिबेलासम्म पनि मैदान व्यवस्थित हुन सकेको थिएन।
दुई वर्ष यता भने पोखरा क्रिकेट मैदान स्वरुप फेरेको छ। गत वर्ष पोखरा प्रिमियर लिग (पिपिएल) को पहिलो संस्करणका लागि आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मैदानको स्वरुपलाई परिवर्तन गर्यो। पृष्ठभूमि देखिने माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृंखलाले मैदानलाई मनमोहक पारेको छ। खेलाडी र दर्शकलाई माछापुच्छ्रेको काखमा हुने खेलले लोभ्याएको छ।
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का पोखरा क्रिकेट मैदानलाई नेपालमा उपलब्ध मध्ये उत्कृष्ट मान्छन्।
पारस यो मैदान भारतको उत्तराञ्चलमा रहेको धर्मशाला मैदानसँग तुलना गर्छन्।
‘भारतको हिमाञ्चल प्रदेशको धर्मशाला रंगशाला पर्यटकमा माझ चर्चित छ। त्यहाँको पृष्ठभूमीले गर्दा त्यहाँ पुग्ने पर्यटक फोटो खिचाइहाल्छन्,’ पारसले भने, ‘हामीसँग अझ ठूलो हिमालयन श्रृंखला अगाडि क्रिकेट मैदान छ। पूर्वाधार विकास गरेमा पोखरा क्रिकेट मैदान लोकप्रिय स्थल बन्न सक्छ।’ सेतोपाटिबाट