लण्डन, ६ कात्तिक । टर्की र रुसबिच सिरियाली कुर्दिसलाई टर्कीको सीमा क्षेत्रबाट पर राख्ने सम्बन्धमा सहमित भएको छ। टर्की र रुसले यो सहमतिलाई ऐतिहासिक भनेका छन् ।
सिरियाको उत्तरी क्षेत्र टर्कीसँग जोडिएको छ र सो क्षेत्रमा कुर्दिसको नियन्त्रण छ । कुर्दिसलाई टर्की आतंकवादी मान्छ ।
टर्कीमा पनि कुर्दिसको बसोबास छ, उसले त्यहाँका कुर्दिसलाई दमन गरेको आरोप लाग्दै आएको छ। अगस्टको पहिलो हाप्तासम्म अमेरिकाको साथ पाएका सिरियाली कुर्दिसका कारण आफ्नो देशमा हिंसा फैलिन सक्ने भन्दै टर्कीले उनीहरुलाई सो क्षेत्रबाट हटाउनु पर्ने बताउँदै आएको थियो ।
अगस्ट ९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरे । त्यसलगत्तै टर्कीले कुर्दिसलाई लक्षित गरी सैन्य आक्रमण थाल्यो । त्यसको चौतर्फी आलोचना भयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पको सेना फिर्ता बोलाउने निर्णयको पनि आलोचना भइरहेको छ । विश्वव्यापी रुपमा कुर्दिसमाथिको आक्रमण युद्ध अपराध हुन सक्ने भन्दै चासो व्यक्त भएपछि गएको बिहीबारदेखि मंगलबार बेलुकासम्मका लागि टर्कीले अल्पकालीन युद्धविरामको घोषणा गरेको थियो।
कुर्दिस लडाकुलाई सो क्षेत्रबाट बाहिर जानका लागि समय दिइएको टर्कीको भनाई छ । अब युद्धविरामको समय सकिएको र टर्की तथा रुसबिच सहमति भएको अवस्थामा पुनः आक्रमण सघन हुने डर छ ।दैनिक नेपालबाट