माघ १६ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा ज्यान लिने निपाह भाइरसको प्रकोप देखिएको छ । यस्ता भाइरसको प्रकोप देखिएपछि चीन र दक्षिणपूर्वी एसियाली देशहरूमा चिन्ता बढेको छ। यो भाइरस जनावरबाट मानिसमा, मानिस मानिस बिचको सम्पर्कबाट वा दूषित खानाको सेवनबाट सर्ने गर्छ।
चिनियाँ नयाँ वर्षको बिदामा लाखौँ मानिसहरू यात्रा गर्ने तयारीमा रहँदा ती देशहरूले विमानस्थलहरूमा स्वास्थ्य जाँचलाई कडा पारेका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाए अनुसार, सन् २०२५ को डिसेम्बरदेखि पश्चिम बंगालमा यस भाइरसका दुईवटा पुष्टि भएका घटनाहरू रिपोर्ट गरिएका छन्।
मन्त्रालयले सङ्क्रमित व्यक्तिहरूको विस्तृत विवरण खुलाएको छैन, तर पुष्टि भएका घटनाहरूसँग जोडिएका कुल १९६ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा सबैजना लक्षणविहीन पाइएको र परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको जानकारी दिएको छ।रोयटर्सलाई एक जिल्ला स्वास्थ्य अधिकारीले बताएअनुसार डिसेम्बरको अन्त्यमा पश्चिम बंगालमा सङ्क्रमित भएका दुई व्यक्ति स्वास्थ्यकर्मी हुन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
