काठमाडौँ, २३ असोज । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।
अष्ट्रेलियाको क्यानबेरामा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग ५-० गोल अन्तरले पराजित हुन पुग्यो । जियो स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन जेमी म्याक्लारेनले ह्याट्रिक गरे । यस्तै ह्यारी सुटरले दुई गोल गरे ।
अस्ट्रेलियाको पोस्टमा नेपालले एउटै राम्रो प्रहार गर्न सकेन । नेपाली टोलीले क्यानबेरा पुग्नुअघि एक हप्तान सिड्नीमा अभ्यास गरेको थियो । युरोपमा व्यावसायिक फुटबल खेल्ने अनुभवी अस्ट्रेलियन खेलाडीसामु नेपाललाई खेल अवधिभर बल नियन्त्रणमा लिन पनि मुस्किल परेको थियो ।
६६ औँ मिनेटमा अभिषेकको स्थानमा बिमल मैदान छिरेका थिए । दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् । यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ ।
नेपाली टिमको नियमित कप्तान विराज महर्जन टिममा यसपटक पनि छैनन् । उनी अभ्यासमा नै सामेल गराइएका थिएनन्। विराज टिममा नपरेपछि नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गरिरहेका छन् ।
जितसँगै समूह ‘बी’ को अष्ट्रेलियाले ३ खेलमा शतप्रतिशत जित निकालेको छ । अष्ट्रेलियाले ३ खेलमा ९ अंक जोडेको छ । अष्ट्रेलिया समूहको शीर्ष स्थानमा रहेको छ ।
नेपालको भने यो दोस्रो हार हो । यसअघि नेपालले कुवेतसँग ७-० को हार व्यहोरेको थियो । नेपालले ३ खेलमा ३ अंक जोडेको छ । नेपालले चाईनिज ताइपेलाई २-० ले हराएको थियो । अब नेपालले चौंथो खेलमा जोर्डनको सामना गर्नेछ । नेपालले जोर्डनसँग अक्टोबर १५ मा उसैको मैदानमा खेल्नेछ ।
नेपालले मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा, चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ । आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा जोर्डनसँग खेल्नेछ । यस्तै, नेपालले अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ ।