कानमा कसैको आवाज ठोक्किएपछि निद्रा खुल्यो । बिउँझिएर हेरेँ, छेवैमा ७५ वर्षीय लक्ष्मीराम थिए । दुःखका पोका फुकाउन नपाएका उनले मेरो खुट्टा सुम्सुम्याउन थालिसकेका थिए । लगत्तै उनी विगत र वर्तमानका दुःख बिसाउन थाले । उनको कथा म एकटक सुन्न थालेँ । लक्ष्मीराम सानै छँदा हैजाले आमाबुबा दुवैलाई लगिसकेको थियो । सानो छँदै गाउँको लामो खडेरीले उनको परिवार धान्न गाह्रो परेको उनलाई अझै सम्झना छ ।
उनको दुःखको कथा त्यहीँबाट सुरु हुन्छ । त्यसो त गरिबको दुःखका कथा जन्मनासाथै सुरु हुन्छ । उनका बुबा असर्फी मोचीले भोकमरीबाट जोगिन पल्लो गाउँको जमिनदार मुंगाई ठाकुरसँग पाँच कठ्ठा जमिन बन्धकी राखेर दुई सय रुपैयाँ ल्याएका थिए । उनले भने, ‘तिनताका हामीसँग जमिन त थियो, तर न पैसा थियो न अनाज ।’ त्यसवेलाको खडेरीले सबैको साहसलाई खुम्च्याइदिएको थियो, जमिन हुनेसँग पनि अनाज थिएन । त्यसैले बुबा असर्फी मोचीले १२ कठ्ठा जमिनमा पाँच कठ्ठा बन्दगी राखेर अनाजको जोहो गरेका थिए । त्यसले पनि धान्न नसकेपछि पछि फेरि तीन कठ्ठा जमिन एक सय २५ रुपैयाँमा बन्धकी राखेर बाँकी आफँैले खनजोत गर्दै आइरहेका थिए ।
परिवार जेनतेन बाँचिरहेको थियो । बुबा ऋणको भारबाट परिवारलाई मुक्त गराउन चाहन्थे । त्यसैले अनेकौँ प्रयास गरी तीन सय २५ रुपैयाँ बोकी जमिनदारसँग आफ्नो जमिन फिर्ता लिन गए । तर, जमिनदार बुबाले सोचेजत्तिको सहज थिएन । जसले दुःखको वेला पैसा दिएका थिए । जमिनदार ठाकुरले जग्गा फिर्ता दिन मानेनन् । जमिन फिर्ता दिन सक्दिनँ भनेपछि असर्फी त्यहीँ बेहोस भए ।
उनी उभिएको जमिनमा चोरी, तस्करी, भ्रष्टाचार, नातावाद, जातिवाद सबै थियो । तर, त्यो सबै उनका बुबाले पहिलोपटक भोग्दै थिए । जमिनबारे गाउँमा अरूसँग कुरा गरेको भन्दै जमिनदार मुंगई ठाकुरले बाँकी रहेको चार कठ्ठा जमिन पनि कब्जा गरे । गाउँ, समाज, कोट कचहरी सबैतिर जमिनदारको चल्थ्यो । तर, उनको कुरा सुन्ने कोही पनि थिएन ।
लक्ष्मीरामजस्ता निमुखा, सहाराविहीन, सीमान्तकृत दलितले यो व्यवस्थाको श्रीवृद्धिका लागि किन भोट खसाल्ने ? के लक्ष्मीरामका लागि हाम्रो व्यवस्था लाजमर्दो होइन ?
यो सबै देखेका लक्ष्मीराम ११ वर्षको हुँदा अभिभावक गुमाए । उनको टाउकोमाथि चार भाइको जिम्मेवारी आइपुग्यो । उनी भन्छन्, ‘मसँग सासबाहेक केही पनि थिएन । के गर्ने भन्ने सोच्ने सक्ने अवस्थामा थिइनँ ।’ त्यसपछि उनको नियतिमा आफ्नै जमिनमा हलिया हुनुबाहेक केही थिएन । जमिनदारले हडपेको आफ्नै जमिनमा उनी खेती गर्थे र अनाज बुझाउँथे । बाँच्नलाई अर्को आधार केही थिएन । आक्रोशले मन जल्थ्यो, तर सहनुको विकल्प थिएन । ०२२ सालमा ठाकुरले उनको सबै जमिन आफ्नो नाममा गराइसकेका रहेछन्, जुन उनले पछि मात्र थाहा पाए । समयसँगै गाउँका केही मान्छेले ठाकुरलाई जमिन फिर्ता गर्न आग्रह गरे । तर, त्यहाँ उनले अपमानबाहेक केही पनि पाएनन् ।
उनी आफ्नै जमिनमा हलिया भएको पनि झन्डै ६ दशक भएछ । यसको उपहार उनले जमिनदार र प्रशासनबाट पाँच दाजुभाइविरुद्ध मुद्दाको तारेख पाएका छन् । गरिबीको मारबाट जोगिन लक्ष्मीरामको परिवारले अनेकौँ संघर्ष गरे पनि गरिबीको रेखा पनि काट्न सकेको थिएन । ६० सालतिर गरिबी मेटाउने उपचारका रूपमा विदेश जाने कुरा उनको परिवारमा पनि भुसको आगोसरी फैलिसकेको थियो । जेठो छोरालाई विदेश पठाए ।
छोराले पठाएको पैसाले उनले मुद्दाको तारेख तिर्दै ठिक्क भयो । अनेकौँपटक धाए, अनेकौँपटक बिन्ती गरे, अनेकौँपटक दुःखका आँसु खसाले, तर अहँ उनको मुद्दाले न्यायको बाटो पहिल्याउन सकेन । जीवनदेखि विरक्त भएका उनी भन्छन्, ‘जीवनभर न्याय नपाएको मैले यो अन्याय ममाथि मात्रै हो भनूँ कि यो व्यवस्थामाथि ?’
ख्याउटे बुढो छालामा बेरिएको एक मुठ्ठी सासले जीवनभर पाएको दुःख वास्तवमा उनको मात्रै हो दुःख हो कि यो व्यवस्था र यसका सञ्चालकको पनि ? अनि लक्ष्मीरामजस्ता निमुखा, सहाराविहीन, सीमान्तकृत दलितले यो व्यवस्थाको श्रीवृद्धिका लागि किन भोट खसाल्ने ? के लक्ष्मीरामका लागि हाम्रो व्यवस्था लाजमर्दो होइन ?