काठमाडौं, ११ साउन । कप्तान पारस खड्काको अर्धशतक बढीको योगदानसहित बसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङका कारण विश्वकप क्वालिफायर एसीयाको शनिबारको खेलमा नेपालले कुवेतलाई धुलो चटाएको छ ।
आइसीसी टी–२० विश्वकप क्वालिफायर फाइनलको तेस्रो खेलमा नेपालको यस्तो नतिजा आएको हो । अब समूहको शीर्षमा रहेको सिंगापुरलाई जित्नुपर्ने नेपालसामु दबाब छ ।
लगातार दोस्रो जितपछि नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । आइतवार सिंगापुरसँग खेलेपछि युएइमा हुने ग्लोबल क्वालिफायर पुग्ने निर्णायक हुनेछ ।
कप्तान पारसले ६८ रन बनाए । नेपालले १४२ रनको लक्ष्य १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । पारसले ४२ बल खेल्दै ६८ रन जोडे ।
पारस र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ३.५ ओभरमा ४४ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए । ज्ञानेन्द्र १३ बलमा १९ रन बनाएर आउट हुँदा नेपालले पहिलो विकेट गुमायो । तर, पारसले दोस्रो विकेटका लागि शरद भेषावकरसँग अर्धशतकीय साझेदारी गर्दै नेपाललाई जितको आधार तयार पारेका थिए ।
शरदले इनिङ्स सम्हाल्दै नेपाललाई जितसम्म पुर्याए । शरदले ३० बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा नटआउट ३८ रन बनाए । उनले १६ औं ओभरको पाँचौ बलमा छक्का प्रहार गर्दै जित पक्का गरेका थिए ।
नेपाली लेग स्पीनर सन्दीप लामिछाने र बस्नत रेग्मीले उत्कृष्ट प्रर्शन गर्दै ६ विकेट लिएका थिए । नेपालका लागि बसन्त र सन्दीपले ३–३ विकेट लिए । ४ ओभरमा बसन्तले २० र सन्दीपले २१ रन खर्चे ।दैनिक नेपालबाट