नयाँ दिल्ली, २६ असार । भारतकाे कर्नाटकपछि गोवामा भारतीय कांग्रेस सामु संकट पैदा भएको छ । गोवामा कांग्रेसका १५ मध्ये १० विधायकले पार्टी छोडेका छन् । उनीहरू समूह बनाएर भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन् ।
भाजपाले गोवामा अरु विभिन्न दलसँग मिलेर सरकार बनाएको थियो । अब उ एक्लै बलियो देखिएको छ । विपक्षी नेता चन्द्रकान्त कावलेकरको नेतृत्वमा कांग्रेसका विधायकले पार्टीबाट राजीनामा दिएका हुन् ।
आफ्ना १० विधायक भाजपामा सामेल भएपछि गोवा कांग्रेसका प्रमुख गिरीश चोदांकरले भाजपाको लक्ष्य एक देश एक पार्टी बनाउने रहेको र हाल देशमा यस्तै अवस्था बनिरहेको बताएका छन् ।
जो विधायक भाजपामा सामेल भएका छन् उनीहरुलाई ब्ल्याकमेल गरिएको हुन सक्ने आरोप उनले लगाएका छन् । यो प्रकरण भाजपाद्वारा सत्ताको दुरुपयोगको उदहारण रहेको चोदांकरले बताए । भाजपा अहंकारले भरिएको पार्टी रहेको उनले बताए ।
सन् २०१७ मा भएको चुनावमा राज्यको सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेससँग अब मात्रै पाँच विधायक रहेका छन् । ४० सदस्य रहेको गोवा विधानसभामा अब भाजपाका विधायकको संख्या २७ पुगेको छ ।
गोवाका मुख्य मन्त्री प्रमोद सावंतले सबै विधायक बिना कुनै शर्त भाजपामा सामेल भएको दाबी गरेका छन् । यसअघि कर्नाटकमा कांग्रेसका १० विधायकले राजीनामा दिएका छन् ।
यी विधायकको राजीनामाको सम्बन्धमा सर्वोच्च अदालतमा बिहीबार सुनुवाई हुँदैछ ।