स्वास्थ्य

नेपाली नागरिक भारतमा रोकिएका नेपाल आउँदै

इलाम ११ जेठ। इलामको नेपाल भारत सीमा नाका पशुपतिनगरबाट आइतबारदेखि भारतमा रोकिएका नेपालीलाई प्रवेश गराउन थालिएको छ । नाकामा आएका नेपालका विभिन्न जिल्लाका नागरिकको आरडिटी परीक्षण गरी नेपाल प्रवेश गराइएको हो ।

प्रदेश नम्बर १ का नागरिकको पिसिआरसमेत परीक्षण गरिएको सूर्योदय नगरपालिकाका करोना फोकलपर्सन पेमाउगेन लामाले जानकारी दिए । जिल्ला स्तरीय विपद व्यवस्थापन केन्द्र र सूर्योदय नगरपालिकाको सहकार्यमा स्वदेश प्रवेश गराएको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले जानकारी दिए ।

आइतबार साँझसम्ममा एक सयभन्दा धेरै मानिस नेपाल प्रवेश गर्ने जनाइएको छ । नेपाल प्रवेश गरेकामध्ये प्रदेश नम्बर १ का ८ जनालाई सूर्योदय नगरपालिकाको पशुपतिनगरमा रहेको क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । बाँकीलाई गृह जिल्ला दोलखा पठाइने फोकलपर्सन लामाले बताए ।

लामाका अनुसार आरडिटीमा पोजिटिभ आए सूर्योदय नगरपालिकाकै करफोकमा रहेको होल्डीङ एरीयामा पिसिआर नआउन्जेल राखिने छ । उनका अनुसार सुकिया, दार्जिलिङ, मिरिक लगायतका स्थानमा कामका सिलसिलामा पुगेकालाई पशुपतीनगरबाट प्रवेश गराइएको हो । करफोकमा चार सय जनालाई राख्ने तयारी गरिएको छ ।

उनीहरुलाई होल्डीङ एरीयामा राखेपछि सम्बन्धित जिल्लामा सम्पर्क गरेर पठाउने व्यवस्था गरिने जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए ।

भारतीय पक्षले उपलव्ध गराएको सूची अनुसार नेपालको दोलखा, रामेछाप, तेह्रथुम लगायतका जिल्लाका नागरिक नेपाल भित्रिने छन् । केन्द्रका अनुसार पशुपतिनगर नाकामार्फत नेपाल आउन १०१ जनाले नाम टिपाएका छन् । पशुपतिनगरबाट प्रवेश गर्नेको एकिन तथ्यांक नरहेको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए । साभारःअन्नपूर्ण पोस्ट