महेश सिंह, लहान –विद्यालय शिक्षा सम्बन्धी विधेयकमार्फत निजी विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने र पूर्ण छात्रवृत्ति दिने प्रावधानविरुद्ध शुक्रबार बिहान सिरहाको लहानमा सयौं विद्यालय बस सहभागी भव्य विरोध र्याली निकालिएको छ।
लहानको बलान खोलाको पुलबाट सुरु भएको बस र्याली लहान बजारभर परिक्रमा गरिएको थियो। प्रत्येक बसमा कालो झण्डा फहराएका छन्। ‘सरकारको गलत शिक्षा नीति विरुद्ध’ भन्दै सहभागीहरूले नाराबाजीसहित सडक प्रदर्शन गरेका छन्।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) सिरहाले आयोजना गरेको सो विरोध कार्यक्रममा शैक्षिक संस्था सञ्चालक, प्रीन्सिपल शिक्षक,गरी सयौंको सहभागिता रहेको थियो। बस र्यालीलाई नेतृत्व गर्दै अध्यक्ष उमेश चौधरीले चार दशकदेखि निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई सरकारले अवमूल्यन गर्न खोजेको आरोप लगाए। उनका अनुसार निजी विद्यालयहरूले करिब ४ लाख रोजगारी सिर्जना, २४ लाख विद्यार्थीलाई गुणस्तरीय शिक्षा र मुलुकको कुल ग्राहस्थ उत्पादनमा ७.२४ प्रतिशत योगदान गरिरहेका छन्।
केहि दिन अगाडी प्याब्सनको टोलीले प्रमुख जिल्ला अधिकारी (सीडीओ) विश्व प्रकाश अर्याल र जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दीपकराज कोलोनीलाई अलगअलग भेटी ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमार्फत प्याब्सनले ‘गैरनाफामूलक’ शब्द हटाउन, पूर्ण छात्रवृत्ति प्रावधान खारेज गर्न, प्रचलित १० प्रतिशत छात्रवृत्ति व्यवस्था कायम राख्न र छात्रवृत्तिसम्बन्धी शुल्क यथावत् राख्न माग गरेको छ।
ज्ञापनपत्र बुझ्दै सीडीओ अर्याल र शिक्षा प्रमुख कोलोनीले मागबारे तत्काल माथिल्लो निकायमा जानकारी दिने प्रतिबद्धता जनाएका छन्।
प्याब्सनका वरिष्ठ उपाध्यक्ष उमेश यादव, एन–प्याब्सन जिल्ला अध्यक्ष प्रदीप तिवारी, मुरारी साह, मनोज सिंह, भरत यादव, निरज चौधरीलगायत सयौं सहभागी बस र्यालीमा सक्रिय रहेका थिए।
प्याब्सनले शुक्रबार देशभर एकैसाथ बस र्याली र ज्ञापनपत्र बुझाउने कार्यक्रम गरेको छ भने माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ।
निजी विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने प्रावधान खारेज गर्न माग गर्दै लहानमा बस रयाली
Admin
•
