महेश सिंह लहान, सिरहा- लहान नगरपालिका–२० का राम प्रकाश महतो तीन वर्षदेखि पेटको रोग (भोटीसरे) बाट पीडित छन्। आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या झेलिरहेका उनलाई माँ लक्ष्मी युवा समाज कल्याण सेवा नेपाल ले आर्थिक सहयोग गरेको छ।
संस्थाका मधेस प्रदेश सञ्चालक टिका राम मोची स्वयम् महतोको घर पुगेर रु. २०,०५५ नगद हस्तान्तरण गरेका हुन्। वैदेशिक रोजगारीमा रहेका युवाहरूले संकलन गरेको रकम सामाजिक सेवामा लगाउने उद्देश्यले संस्थाले विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाले गरिब, दलित, विपन्न तथा अन्य पीडित वर्गलाई आर्थिक सहयोग, दहेज मुक्त विवाहको प्रवर्द्धन, छुवाछूत र भेदभाव अन्त्य, अन्यायमा परेकालाई न्याय दिलाउने तथा विपत्तिमा परेकालाई राहत उपलब्ध गराउने कार्य गर्दै आएको छ।
सहयोग हस्तान्तरण गर्दै मोचीले भने, “सामाजिक सेवामा निरन्तर क्रियाशील रही विपन्न तथा असहायलाई सहयोग गर्नु हाम्रो दायित्व हो। मानव सेवाभन्दा ठूलो धर्म अरू केही छैन।”
वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरूको पहलमा स्थापना भएको उक्त संस्थाले शिक्षा, सीपमूलक कार्यक्रम तथा बालविवाह र दहेज प्रथाको अन्त्यका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ।
संस्थाले आगामी दिनमा पनि विपन्न तथा पीडित वर्गका लागि सामाजिक सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।