महेश सिंह सिरहा, २३ पौष –सिरहाको सुखिपुरमा ऋण लिएका सगीर भनिने नगिर नटले साँवा रकम फिर्ता गर्न अस्वीकार गरेपछि साहु नागेश्वर चौधरीले न्यायका लागि संघर्ष गरिरहेका छन्। यस घटनाले स्थानीय समाजमा गहिरो असर पारेको छ।
सगीर नटले विभिन्न समयमा नागेश्वर चौधरीबाट सात लाख रुपैयाँ ऋण लिएका थिए। तर, रकम फिर्ता गर्न नसक्ने मात्र होइन, चौधरी परिवारमाथि दुव्र्यवहार र धम्कीपूर्ण गतिविधि गरेको आरोप स्थानीयले लगाएका छन्। साहुले आफ्नो श्रीमती सुमिन्त्रा देवी चौधरीको नाममा रहेको तीन कठ्ठा जग्गामा लगाइएको धान समेत सगीरले महिलाहरूको समूह ल्याई काटेर लगेको आरोप लगाएका छन्।
सुखिपुर वडा नं. ८ का वडाध्यक्ष किशोरी प्रसाद चौधरीका अनुसार, सगीरले सात लाख रुपैयाँ साँवा मात्र तिर्ने सहमति सिरहा जिल्ला प्रहरी कार्यालयमा गरिसकेको थियो। तर, सगीरले अहिलेसम्म त्यस सहमति कार्यान्वयनमा ल्याएका छैनन्।
वडाध्यक्षले भने, “पटक-पटक सम्झाउँदा पनि सगीरले रकम फिर्ता गर्न अस्वीकार गर्दै आएको छ। यसले स्थानीय स्तरमा विवाद चर्काउँदै अन्य गरीब परिवारलाई ऋणको पहुँचबाट समेत वञ्चित गराएको छ।”
पत्रकार सम्मेलनमा साहु नागेश्वर चौधरीले आफ्नो परिवार आर्थिक र सामाजिक दबाबमा परेको बताए। उनले भने, “म न्यायका लागि भौतारिएको छु। मेरो सम्पत्ति लुटिएको छ, महिलामाथि दुव्र्यवहार गरिएको छ। यस विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ।”
कानूनअनुसार कारवाहीको माग गरेका छन्। उनीहरूले भने, “सगीरको यस्तो व्यवहारले अन्य गरीब र विपन्न परिवारलाई थप समस्यामा पारेको छ। यस्तो अवस्थामा राज्यले हस्तक्षेप गरेर पीडितलाई न्याय दिलाउनुपर्छ।”
सगीर नटले भने आफ्नो पक्ष प्रस्तुत गर्दै भनेका छन् कि उनले सबै पैसा फिर्ता गरिसकेका छन्। तर, वडाध्यक्ष र स्थानीयले सगीरको दाबीलाई खण्डन गर्दै पैसा फिर्ता नभएको पुष्टि गरेका छन्।
साहु चौधरीले न्यायका लागि विभिन्न निकायमा गुहार लगाइरहेका छन्। यो विवादले स्थानीय तहमा कानूनी प्रक्रिया र सामाजिक न्यायको महत्वलाई फेरि एकपटक उजागर गरेको छ। अब यस घटनामा प्रशासनले चाँडो कदम चालेर समस्या समाधान गर्नु आवश्यक छ।