महेश सिंह सिरहा लहान, सिरहा यूएसएआईडीको सहयोगमा संचालित “एचआईभी कम्युनिटी सेवाहरू” परियोजनाको शुभारम्भ बैठक लहानमा सम्पन्न भएको छ। जीवन ज्योति समाजले आयोजना गरेको यो कार्यक्रम स्थानीय सरोकारवालाहरूसँगको समन्वयमा प्रभावकारी रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रादेशिक अस्पताल लहानका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बृजेन्द्र साह, एआरटी सेन्टर लहानका इन्चार्ज हरेराम महतो, लहान अस्पतालका ल्याब टेक्निसियन लगायत सिरहा अस्पतालका कर्मचारीहरू तथा एचआईभी सम्बन्धी काम गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रमका क्रममा जीवन ज्योति समाजका अध्यक्ष लक्ष्मेश्वर यादवले एचआईभी पहिचान र उपचारका लागि आवश्यक ल्याब सामग्री तथा डी-फ्रिज हस्तान्तरण गरेका थिए। यस कदमलाई सहभागीहरूले महत्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरे।
उक्त अवसरमा सिरहा जिल्ला भरी एचआईभी पहिचान तथा सेवा प्रवाहका लागि अझ सक्रियरूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। एआरटी सेन्टरका इन्चार्ज महतोले समुदायमा एचआईभीसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि सबै पक्षलाई सहकार्यका लागि आग्रह गरे।
यो परियोजनाले सिरहा लगायत प्रदेश २ मा एचआईभी रोकथाम, उपचार, र सेवाको गुणस्तर सुधार्न योगदान पुर्याउने विश्वास गरिएको छ।