लहान – लहान सिटी जेसिजले सोमबार प्रादेशिक अस्पताल लहानमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। जेसिजले आफ्नो वार्षिक सप्ताह कार्यक्रमअन्तर्गत चौथो दिनको कार्यक्रममा यस्तो सहयोगात्मक कार्य सम्पन्न गरेको हो।
कार्यक्रम जेसिजकी संयोजक कुमारी साह र लालबहादुर साह मेमोरियल ट्रस्टको सहकार्यमा, अध्यक्ष उमेश कुमार यादवको नेतृत्व र महासचिव देबन लाल ठाकुरको पहलमा सम्पन्न भएको हो। जेसिजका नित्यानन्द साहका अनुसार अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई केरा, स्याउ, सुन्तला, एक बोतल खानेपानी, एक प्याकेट हर्लिक्स र दुई प्याकेट जीवनजल वितरण गरिएको थियो।
फलफूल वितरण कार्यक्रममा बिरामी र तिनका परिवारजनको अनुहारमा झल्किएको खुशीले माहोललाई भावनात्मक बनाएको थियो। जेसिजका अध्यक्ष उमेश कुमार यादवले भने, “बिरामीहरूमाथि गरिएको सानो सहयोगले पनि उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ भन्ने विश्वासले हामीले यो कार्यक्रम आयोजना गरेका हौं। यहाँ भर्ना भएका अधिकांश बिरामीका स्वास्थ्यमा सुधार भइरहेको खबरले हामीलाई थप प्रेरणा मिलेको छ।”
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष शत्रुधन मण्डल, मेडिकल सुपरिटेन्डेन्ट डा. बृजेन्द्र साह, अस्पताल व्यवस्थापक धनोज कुमार गुप्ता, वरिष्ठ समाजसेवी राकेश झा र जेसिजका मुरारी, उपेन्द्र यादव साहलगायतको उपस्थिति रहेको थियो।
बिरामीहरूमध्ये कतिपयले आफ्नो स्वास्थ्य अवस्थाबारे आशावादी धारणा व्यक्त गर्दै धन्यवाद प्रकट गरे। एक बिरामीका परिवारले भने, “हामी यस सहयोग र हौसलाका लागि निकै आभारी छौं। यस्तो सहयोगले हाम्रो मानसिक तनाव घटाएर बिरामीलाई शीघ्र स्वास्थ्यलाभ गर्न प्रेरित गरेको छ।”
जेसिजले आफ्नो सप्ताह कार्यक्रमअन्तर्गत समाजमा सकारात्मक प्रभाव पार्ने अन्य विविध गतिविधिहरू गर्दै आएको छ। यस प्रकारका कार्यक्रमले बिरामीको मनोबल बढाउन र समाजमा सहयोगी भावना प्रवर्द्धन गर्न उल्लेखनीय योगदान पुर्याएको आयोजकहरूले बताए।