लहान, मंसिर १५ लहान सिटी जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सिरहाको लहान नगरपालिका–१५ ढोडनास्थित सगरमाथा माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। जेसिजका अध्यक्ष उमेश कुमार यादवको नेतृत्वमा आयोजित यस शिविरमा दर्जनौं स्थानीयले स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा लहानका वरिष्ठ चिकित्सक डा. ओमप्रकाश साह, डा. गीता यादव र डा. कुश्बु साहसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा वृद्धवृद्धा, दलित, आर्थिक अवस्था कमजोर रहेका तथा अपाङ्गतासहितका व्यक्तिहरूले सेवा लिएका थिए। ल्याब टेक्निसियन बिरेन्द्र सिंहले रक्त परीक्षण लगायतका सेवा प्रदान गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तेजनारायण चौधरीले जेसिजको यो प्रयासप्रति धन्यवाद व्यक्त गर्दै स्थानीयस्तरमा यस्ता सामाजिक कार्यहरूले ठूलो योगदान दिने बताए। जेसिजका पूर्व अध्यक्ष नित्यानन्द साह, लायन्स कलब अफ लहान फुलवारीका संस्थापक तथा समाजसेवी राकेश झा, क्यानसर केयर लहानका अध्यक्ष अशोक लाल अमात्य र अन्य विशिष्ट व्यक्तिहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
जाडोयामका कारण गाउँलेलाई टाढा जानुपर्नेजस्तो असुविधा हटाउन तथा एमबीबीएस र एमडी तहका चिकित्सकको सेवा गाउँमै उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जेसिज अध्यक्ष यादवले बताए। विद्यालयका निमित्त प्रधानाध्यापक देवनलाल ठाकुरले शिविरले स्थानीयको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
स्वास्थ्य शिविरमा बिहानैदेखि सेवाग्राहीहरूको भीड लागेको थियो। सहभागीहरूले चिकित्सकीय परामर्श, औषधि वितरण र परीक्षणजस्ता सेवाबाट लाभ लिएका छन्। शिविर सफल बनाउन जेसिज टिमको सक्रियताले स्थानीयको ठूलो प्रशंसा पाएको छ।