धनुषा,भदौ ८ गते । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.५ ललियामा ५५ वर्षीय चेता भन्ने रामवृक्ष मण्डल र २५ वर्षीय अम्बिका मण्डलको हत्या गरि शव गाडिएको अवस्थामा फेला परेको छ । मृतक दुवै जना ससुरा र वुहारी हुन् ।
मृतक रामवृक्ष मण्डललले स्थानिय शिव मंदिरको साँचो राख्दै आएका थिए । मंदिरको साँचो लिन रामवृक्षका भाई चन्द्रहंस मण्डल गएपछि उनको घरमा रगतका छिटा देखेका थिए । दाजु नभेटिएपछि भतिज भागेश्वरलाई सोध्दा आफुले वुवा र श्रीमतीलाई हत्या गरि गाडेको बताएपछि घटना बाहिरिएको थियो ।
ससुरा र वुहारीविच अनैतिक सम्बन्धकै कारणले दुवै जनाको ३० वर्षीय छोरा तथा मृतककी श्रीमान भागेश्वर मण्डलले हत्या गरेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीले भागेश्वर मण्डललाई पक्राउ गरेको छ ।
स्थानीयबासिन्दाहरुका अनुसार भागेश्वर मण्डल एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन्, घर फर्केपछि लामो समयदेखि उनीहरुको घरमा विवाद हुँदा आएको थियो ।- knkhabar.com
गए राति विवादकै क्रममा वुवा र श्रीमतीको हत्या गरेर भागेश्वरले गाडेको प्रहरी समक्ष वयान दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले बताए ।
प्रहरीले घटनास्थलमा पुगेर शव उत्खनन गरेको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा शव ल्याइएको छ ।