भिडियो कन्फरेन्समार्फत संयुक्त उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार निरन्तर काममा रहेको बताउनुभयो । उहाँले यसअघि ३२ पुलको उद्घाटन भइसकेको जनाउँदै केही महिनाभित्र अन्य ठूला पुलको निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । पौडेलले विगतमा विकट भनिएका ठाउँमा बाटो र पुल बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिनुभयो ।
“हामी विकास निर्माणका काममा तल्लीन छौँ, तर अहिले महामारीका कारण हामीले हाम्रो सारा शक्ति कोभिडको महामारीलाई नियन्त्रण गर्नेतर्फ लगाएका छौँ”, पौडेलले भन्नुभयो । महामारी नियन्त्रणमा आएपछि फेरि विकास निर्माणको कामलाई तीव्रता दिने उहाँको भनाइ थियो ।
उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्दै भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताउनुभयो । “राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र विकासप्रेमी नेता डोरमणि पौडेलको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा मुकुन्द पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बराल लगायतको सहभागिता थियो ।
