विराटनगर २१ कार्तिक । आर्थिक अवस्था कमजोर भएका कारण नोबेलले उपचार गर्न नमाने पछि घर पुगेर संक्रमित महिलाले आत्महत्या गरेकी छिन् ।अस्पतालले उपचार नगरी घर फर्काएपछी मोरङको रतुवामाई नगरपालिका–१० की ४० वर्षीय नरमाया मगरले आत्महत्या गरेकी हुन् ।
नोबेलमा कात्तिक ९ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचारमा दैनिक १८ हजार रुपैयाँ लाग्ने भन्दै अग्रिम भुक्तानी गर्न दबाब दिएको थियो । महङ्गो उपचार शुल्क तिर्न नसक्ने परिवारले बताएपछि नोबेलले घर जान भनेको थियो।
सरकारी अस्पतालमा बेड नभएको र पैसाबिना नोबेलमा उपचार नपाएपछि श्रीमान टेकबहादुर मगरले उनलाई घर फर्काएकोमा १० गते उनले शौचालयमा पासो लागेर आत्महत्या गरेकि हुन् । रतुवामाई नगरपालिका–१० का अध्यक्ष टंक ढकालका अनुसार मृगौलाले काम गर्न छाडेपछि मृतकको गत असारदेखि डाइलसिस हुँदै आएको थियो ।
मगरको कात्तिक ९ गते विहान करिब ३ बजे नोबेलमै डाइलसिस भएको थियो । डाइलसिस गरेको केही समयपछि कोरोना पोजेटिभ रिपोर्ट आएको भन्दै नोबेलले आइसोलेसनमा भर्ना भएर दैनिक १८ हजार रुपैयाँ खर्च गरे मात्र उपचार हुने बताएको थियो ।
अस्पतालले दैनिक १८ हजार तिनुपर्छ भनेपछि श्रीमतीलाई आइसोलेसनमा भर्ना गर्ने आट नै नाअएको श्रीमान टेकबहादुर मगरले बताए । महँगो शुल्क तिर्न नसक्ने भएपछि श्रीमतीलाई घर ल्याएकोमा टिकाको दिन उनले आत्महत्या गरेको उनको भनाई छ ।
वडा अध्यक्ष ढकालका अनुसार मृतकको परिवार आर्थिक रुपमा विपन्न छ । कोरोना पोजेटिभ देखिएपछि घर आएकी उनलाई घरसँगै रहेको गोठमा बस्ने व्यवस्था मिलाइएकोमा गोठमै बनाएको अस्थायी शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएको हो ।
नोबेलले भने संक्रमितलाई पैसा नभएकै कारण घर नपठाएको दावी गरेको छ । कलेजका प्रबन्धक नारायण दाहालले संक्रमितलाई घर नपठाएको दावी समेत गरे । ‘हामीले बिरामीलाई घर पठायो भन्ने आरोप गलत हो,’ उनले भने, ‘हामीले उपचार गरिरहेका छौं, कसैलाई घर पठाएका छैनौं ।
यसअघि पनि उपचारमा लापरबाही गर्दै आएको नोबेलकै कारण कतिपयले अकालमा ज्यान गुमाएका छन् । तर, नोबेलमाथि कुनै कार्बाही भएको छैन ।
