Breaking News

सिरहामा कोरोनाभाइरसको संक्रमणबाट एक युवकको मृत्यु

सिरहा  २३ श्रावण। सिरहाका एक कोरोना संक्रमित युवकको उपचारको क्रममा मृत्यु भएको छ । सिरहाकाे गोगलबजार नगरपालिका–१२ बेतौनाका २२ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको छ ।

किडनीका बिरामी उनको बिहिबार राति धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।
किनडीका बिरामी उनको नियमित डायलासिस प्रदेशिक अस्पताल जनकपुरमा हुँदै थियो । चार दिनअघि डायलासिसका लागि जनकपुर पुगेका उनको पिसिआर परीक्षणका लागि स्वाब लिइर घर पठाएको थियो। घर फर्केपछि साउन २१ गत्ते दिउँसो उनको रिपोर्ट पोजेटिभ आएको थियो । सोही दिन उनलाई प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाइएको प्रजिअ कँणेलले बताए ।
प्रदेशिक कोभिड अस्पालका संयोजक डा. जामुनप्रसाद सिंहका अनुसार किडनीको नियमित डायलासिस गराइउँदै आएका सात जना बिरामीमा कोरोना पोजेटिभ पुष्टि भएको छ । उनीहरु सबैलाई डायलासिस गराउन यहाँबाट बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउने र डायलासिस पछि एम्बुलेन्समा फेरी यहाँ ल्याउने गरिँदै आएको डा. सिंहले बताए । सोही क्रममा उनलाई बिहिबार बिहान एम्बुलेन्समा राखेर डायलासिसका लागि धरान पठाइएको थियो । डायलासिस भएपछि उनको स्वास्थ्य अवस्था बिग्रिदै गयो । आइसियुमा थप उपचार हुँदै गर्दा उनको मृत्यु भएको डा. सिंले बताए । किडनीका बिरामीलाई कोरोना संक्रमण भयो भने उच्च जोखिम हुन्छ डा.सिंहले भने,‘बांकी ६ जना कोरोना संक्रमित किडनीका बिरामीलाई पनि उच्च जोखिम छ । हामी नियमित धरान पुर्याउने ल्याउने गरिरहेका छौं ।’
कोरोना संक्रमित किडनीका बिरामीका लागि जनकपुरमा डायलासिसको सेवा उपलब्ध छैन ।
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शव सिरहा ल्याउने तयारी भैरहेको छ । प्रमुख जिल्ला अधिकारी कणेलले भने,‘हामी शव व्यवस्थापनको तयारी गर्दैछौं ।’ कोरोनाबाट सिरहामा मृत्यु भएको यो पहिलो हो ।