मुख्य समाचार

सत्तारुढ दलका सांसदहरुले नीति तथा कार्यक्रम कार्यान्वयनका बजेटमार्फत विशेष व्यवस्था

निरज झा काठमाडौं ४ जेठ।।सत्तारुढ दलका सांसदहरुले सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि बजेटमार्फत विशेष व्यवस्था हुने विश्वास व्यक्त गरेका छन् ।रोल…
राष्ट्रियसभामा आइतबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तारुढ दलका सांसदहरुले नीतिहरु प्रशंसायोग्य भएपनि कार्यान्वयनका लागि बजेटको व्यवस्था हुनुपर्ने बताएका छन् ।

सांसद नारायणकाजी श्रेष्ठले नीति तथा कार्यक्रमहरु ठोस रुपमा प्राथमिकताका साथ नआएपनि बजेट मार्फत सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा श्रेष्ठले कोभिड—१९ को निराकरण, नियन्त्रण र उपचार प्रथामिकताको वर्षका रुपमा अगाडी बढ्ने ठोस नीति नआएको बताउनुभयो ।

विपद व्यवस्थान, विदेशमा रहेका नेपालीहरुको समस्या समाधानको विषयमा पनि नीति तथा कार्यक्रममा ठोस कुराहरु उल्लेख नभएको भन्दै उहाँले बजेट मार्फत सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । अहिलेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउने र मान्छेलाई बचाउने कुरामा सकारको ध्यान कम गएको उहाँले बताउनुभयो । यसका लागि विशेष राहत प्याकेजको आवश्यकता रहेकाले बजेट मार्फत आउनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जो भोकै छन् तीनलाई बचाउन । धोस्त भएको पर्यटन बनाउनका लागि निश्चित रुपमा राहत प्याकेज लिएर जानुपर्छ ।’ किसानहरुको रक्षा, सबै खाली जमिनहरुको प्रयोग गर्ने नीति, समयमै, मल खादको व्यवस्थापन, सिँचाईको व्यवस्था, सित भण्डार, सहकारीलाई प्रोत्साहित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
श्रेष्ठले आजको सन्दर्भलाई ध्यान दिँदै आवश्यक पूर्ति गर्ने गरी नीति तथा कार्यक्रम आएको पनि बताउनुभएको छ । अहिलेको परिस्थिति र आधारभूत आवश्यकता कुराहरुलाई ध्यान दिँदै नीति तथा कार्यक्रम आएको उहाँले बताउनुभयो ।

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता स्वाभिमान र हितलाई केन्द्रमा राखेर अगाडी बढ्ने प्रतिवद्धता जोडदार रुपमा प्रस्तुत गरिएको उहाँले बताउनुभयो । लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायत नेपालको अतिक्रमित भूमिलाई प्राप्त गर्न ठोस पहल कदम सरकारले लिएको उहाँले बताउनुभयो ।श्रेष्ठले कोभिड—१९ को महामारीलाई केन्द्रमा राखि सचेतना बढाउने, व्यापक परीक्षणको दायरा बढाउने कुराहरु नीति तथा कार्यक्रममा आएको उल्ले गर्दै मानविय क्षति हुन नदिन, रोकथाम नियन्त्रण र उपचारका काम अगाडी बढाउन पनि सरकारलाई अपिल गर्नुभयो ।

सरकारले आर्थिक कृयाकलाप, कृषि तथा औद्योगिक उत्पादन, रोजगारी सिर्जनाका लागि उत्पादनका क्षेत्र बढाउने, विकास निर्माण र सामाजिक जनजीवनमा थप गति हुन नदिने गरी राष्ट्रिय पूँजी परिचलनको नीति लिएको बताउनुभयो । सांसद वेदुराम भूसालले सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रिप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । कृषि, रोजगारी सिर्जना र जनताको स्वास्थ्यमा केन्द्रीत रहेर नीति तथा कार्यक्रम आएको उहाँले बताउनुभयो ।

सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा सधै प्रश्न उठ्ने गरेको भन्दै उहाँले आगामी बजेटबाट कार्यान्वयनका लागि सरकारले व्यवस्था गर्ने विश्वस उहाँले व्यक्त गर्नुभयो । शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा सरकारले महत्वपूर्ण नीतिहरु अघि सारेको उल्लेख गर्दै भूसालले त्यसको कार्यान्वयनका लागि आगामी बजेटमा विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । सांस्कृतिक क्षेत्रको विकासका कुराहरु पनि नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उहाँले बताउनुभयो ।वेदुराम भूसाल, सांसद
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । सोमबार पनि सांसदहरुले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् ।