मुख्य समाचार · स्वास्थ्य-जीवनशैली

सर्वसाधरणका लागि औषधि–उपचार : भिख माग्नुपर्ने, घर–खेत मास्नुपर्ने

१६ बैशाख।प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर ठाँटको जीवन बाँचिरहँदा भक्तपुर मनोहरा नजिक सुकुम्बासी बस्तीमा डेरा जमाएका सुवास गोले औषधि किन्नै नसकेर छटपटाइरहेका छन् । नियमित डायलसिस गरिरहेका उनीसँग औषधि किन्ने वा मिर्गौला प्रत्यारोपण गर्ने पैसा हुँदो हो त संभावित मृत्युलाई पर धकेल्ने थिए होलान् । कलिलो छोरी र निरिह श्रीमतीका निम्ति आड–भरोसा बन्थे होलान् । तर, उनीसँग उपचार खर्च त के सुकुम्बासी बस्तीमा ओत लाग्ने खर्च पनि छैन ।

उनी आफ्नो दुःखव्यथा सुनाइदिन हारगुहार गरिरहेका हुन्छन्, ताकि मनकारीहरुले दिने दुई–चार रुपैयाँबाट औषधि किन्न सकियोस् । तर, कहिलेसम्म यसरी जीवनको भिख मागिरहने ?

सुवास गोले एक प्रतिनिधि पात्र हुन्, जो औषधि–उपचारकै अभावमा छटपटाइरहेका छन् । उनी जस्ता थुप्रै गरिब–असाह्य जीवन रक्षाका लागि हारगुहार गरिरहेका छन् । सडकदेखि सामाजिक सञ्जालसम्म यस्ता हजारौं–हजार पात्र भेटिन्छन्, उपचार खर्चका लागि अरुसामु याचना गरिरहेका ।

औषधि–उपचारको गर्न नसक्ने भएकाले कतिपयले रोग पालेर बसेका छन् । अस्पताल र औषधि किन्नै नसक्ने अवस्थाकाहरु रोग र व्यथा सहेर बसिरहेका छन् । औषधि र उपचारको बिल भुक्तान गर्न नसकेर कतिपय अस्पतालको शैयामा नै बन्धक भएका छन् । कतिपयले उपचार खर्च तिर्न नसकेपछि अस्पतालको छतबाट हाम फालेर आत्महत्या गरिरहेका छन् । घर–खेत सिध्याएर पुस्तौका लागि ऋणै–ऋणको बोझ बोकिरहेका छन् । गरिब सर्वसाधरणको यस्तो बेहाल छ ।

अर्कोतिर नेता–मन्त्रीहरु औषधि–उपचारकै नाममा विदेश सयर गरिरहन्छन् । आफन्त, नातेदार, कार्यकर्तालाई ‘औषधि–उपचार’को नाममा राज्यको ढुकुटीबाट लाखौं–करोडौं खर्च गरिरहेका छन् ।

अनुदार राज्य

सर्बसाधरणले जंगलबाट खोजेर ल्याएको एक मुठो निगुरोमा समेत कर उठाउने सरकार उनै सर्वसाधरणको स्वास्थ्य–सुरक्षामा कतिपनि उत्तरदायी छैन । आफ्नो बलबुतोले उब्जाउ गरेर बेच्न राखिएको सागसब्जीबाट समेत राज्यलाई कर बुझाइरहेका सर्वसाधरण जब रोगले थलिन्छन्, औषधि–उपचारका लागि भिख माग्नुपर्ने बाध्यतामा पुग्छन् ।

गाडीमा एक किलोमिटर यात्रा गर्दा होस् वा किराना पसलबाट एक झोला सरसामन गरिद गर्दा । होटलमा एक थाल खाना खाँदा होस् वा सानो घरेलु उद्योग गर्दा नै । सामान्य रोजगरी गर्दा होस् वा विदेशमा श्रम बेच्न जाँदा, सर्वसाधरणबाट राज्यले कुनै न कुनै रुपमा पैसा असुल्छ । एउटा व्यक्तिले पाएको पुरस्कारको रकम समेत राज्य–कोषमा कटौती हुन्छ । तर, त्यही नागरिकको अशक्त भएमा, रोगी भएमा, उपचार गर्नुपर्ने भएमा राज्यबाट आड–भरोसा पाउँदैनन् । रोग लागेपछि औषधि–उपचारका लागि ऋण काड्नुपर्ने अवस्थामा पुग्छन् । घर खेत बेच्नुपर्ने अवस्थामा पुग्छन् । सबै रित्याएर सडक किनारमा भिख माग्नुपर्ने अवस्थामा पुग्छन् ।

वैदेशिक रोजगारीमा गएकाहरु नै मनकारी

जब एक सर्वसाधरण ‘मलाई बचाउनुहोस्’ भन्दै विलौना गर्नुपर्ने वाध्यतामा पुग्छन्, उनीहरुको विलौना राज्यले सुन्दैन । नेता–मन्त्रीले सुन्ने कुरै भएन । कथित समाजसेवीहरुले सुन्दै–सुन्दैनन् । धनीमानीहरुले पनि सुन्दैनन् ।

रोगले थलिएका र उपचार अभावमा छटपटाइरहेका उनीहरुको विलौना सुन्ने भनेका उनीहरु जस्तै सर्वसाधरण हुन्, जो दैनिक ज्यालादारी गरेर वा विदेशमा श्रम गरेर बसिरहेका छन् । उनीहरुले आफ्नो गाँस र छाक कटाएर पनि सहयोग जुटाइदिने गरेका छन् । सामाजिक सञ्जालमार्फत अभियान चलाएर भएपनि पैसा संकलन गर्छन् र भरपर्दो माध्यामबाट सम्बन्धित व्यक्तिको हातमा पु¥याउँछन् ।

स्वदेशमै अनेक हन्डर खाएर, सरकारी झन्झट झेलेर, दलालको फन्दामा पेलिएर, श्रम भिषामा विदेश पुगेर विशुद्ध पसिना र श्रमबाट दुई गाँस जुटाइरहेकाहरुले नै असक्त गरिब, रोगीहरुको सहयोगमा निस्वार्थ भावले अघि सर्ने गरेका छन् ।

अस्पतालमा गरिबलाई प्रवेश निषेध

शहर केन्द्रित ठूल–ठूला अस्पताल छन् तर, त्यसको ढोका गरिबका लागि खुला छैन । गाउँ–गाउँमा स्वास्थ्य सेवा पुगेकै छैन । एक पुरिया जीवनजल र एउटा सिटामोल किन्न समेत घण्टौं हिँड्नुपर्ने बाध्यता छ । भएका स्वास्थ्य चौकी र सरकारी अस्पताल लथालिंग छन् । न त्यहाँ दक्ष स्वस्थ्यकर्मी पुग्छन्, न पुग्दो स्वास्थ्य उपकरण हुन्छ, न आवश्यक सेवा–सुविधा नै । निजी अस्पताल, मेडिकलको स्वास्थ्य उपचार धान्नै सकिदैन । यी अस्पतालहरु रोगीलाई कसरी सिघ्र र भरपर्दो उपचार दिने भन्दा पनि कसरी पैसा असुल्ने भन्नेमा केन्द्रित छन् ।

निजी अस्पतालको स्वास्थ्य–सेवा सर्वसाधरणको पहुँचमा छैन, सरकारी अस्पतालको स्वास्थ्य सेवा भरपर्दो र छरितो छैन ।साभारःअन्लाईनखबर