शम्भु चौधरी सिरहा ७ कार्तिक । खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा स्थानीय स्तरमा क्रिकेट खेलप्रति आकर्षण बढाउने उद्देश्यले सिरहाको भगवानपुर गाउँपालिकामा अध्यक्ष कप क्रिकेट प्रतियोगिता शनिवार सम्पन्न भएको छ।
लहान नगरपालिका र नवराजपुर गाउँपालिका बीच सम्पन्न फाइनल खेलमा विजेता लहान नगरपालिका तथा उपविजेता नवराजपुर गाउँपालिका भएको आयोजकले बताए ।
शनिबार सम्पन्न फाइनल खेलमा लहान नगरपालिकाले पहिले ब्याटिङ गर्दै १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गर्दै नवराजपुर गाउँपालिकाले १ सय १८ रन मात्र बनाउन सफल भयो। निर्धारित लक्ष्य पूरा गर्न नसक्दा नवराजपुर गाउँपालिका उपविजेता मै चित बुझाएका छन । यससँगै लहान नगरपालिकाले दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि आफ्नो नाममा गर्न सफल भएको छ।
स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्दै खेलकुदको माध्यमबाट आपसी सद्भाव, एकता र भाइचाराको भावना विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताले गाउँपालिका भित्र रहेका प्रतिभाशाली क्रिकेट खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामार्फत युवाहरूलाई खेलकुदप्रति प्रोत्साहित गर्नुका साथै अनुशासित, स्वस्थ र सक्रिय समाज निर्माणमा योगदान पुग्ने विश्वास लिइएको छ। यस्ता खेलकुद गतिविधिले स्थानीय स्तरमा क्रिकेटको विकास गर्न र नयाँ खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्।
प्रतियोगिताको जित संगै प्रथम पुरस्कार लहानले नगद रु १ लाख र ट्रफी तथा दोस्रो पुरस्कार नवराजपुरले नगद रु ७१ हजार ट्रफी प्रप्त गरेका छन । पुरस्कार भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले प्रदान गरिएको पालिकाका एक कर्मचारी संजय साहले बताए ।
खेलले जित र हार मात्र होइन, आपसी सद्भाव, अनुशासन र एकताको सन्देश पनि दिन्छ।

