काठमाडाैं, २५ चैत । कोरोना भाइरसको महामारीमा स्वास्थ्य संस्था, क्वारेन्टाइन स्थल, हेल्प डेक्स, आइसोलेसन वार्ड, बिरामी ल्याउन प्रयोग हुने एम्वुलेन्स लगायतका अवस्थामा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरूको माग भइ रहेको छ ।
अत्यावश्यक स्वास्थ सामाग्री सामाग्रीहरू सहज उपलव्ध नरहेको अवस्था छ । नेपाल सरकारले गैर सरकारी संस्था तथा अन्तराष्ट्रिय संस्थाहरूलाई स्थानीय सरकारको समन्वयमा सहयोग गर्नको लागि आव्हान समेत गरेको छ ।
यस परिस्थितीमा स्थानीय सरकारको अनुरोध र सेभ द चिल्ड्रेनको स्थानीय साझेदार संस्था वाल विकास समाज नेपालको सहकार्यमा विभिन्न स्वास्थ्य सामाग्रीहरू स्थानीय सरकारलाई हस्तान्तरण गरेकाे जनाइएको छ ।
सेनिटाइजर १४ लिटर, सर्जिकल मास्क १५०० थान, ग्लोव १२२० जोडी, बुट १५ जोर, सावन २०० थान, युटिलिटी ग्लोव १५ जोर लगायतका करिव १ लाख ५० हाजारभन्दा बढीका स्वास्थ्य सामाग्रीहरू उदयपुर जिल्लाका ताप्ली, उदयपुर गढी गाउँपालिका, त्रियुगा नगरपालिका र कटारी नगरपालिकामा सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दीपक बुढाथोकीले स्थानीय सरकारलाई हस्तान्तरण गरेको बताएका छन् ।
हस्तान्तरण समारोहमा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले विषम परिस्थितिमा नगरपालिकाले नगरवासीहरूको कोविड १९ बाट सुरक्षाका लागि विभिन्न कार्यहरू गरिरहेको सन्दर्भमा कोरोना भाइरसकाविरुद्ध पूर्व तयारीकालागि स्वास्थ्य सामग्रीले ठूलो सहयोग पुगेको बताए ।
कटारी नगरपालिकामा समेत स्वस्थ्य सामाग्री सोहि संस्थाबाट हस्तान्तरण भएको छ । कटारी नगरपालिकाले उदयपुर जिल्लाको अधिकांश क्षेत्रलाई स्वास्थ्य सुविधा उपलव्ध पुर्याउन सफल कटारी नगरपालिकाभित्र रहेको एक मात्र सरकारी अस्पताल र यसै क्षेत्रको वेलसोतमा क्वरेन्टाइन स्थल संचालन भई रहेकोले स्वास्थ्यका सामाग्रीहरू अझ अपुग भई रहेको अवस्थामा सेभ द चिल्ड्रेनको सहयोगले मद्दत पुगेको जनाएको छ । दैनिक नेपाल
