मुख्य समाचार

महेन्द्र राय यादव : सरकारसँग उपसभामुख मागेको छैन, किन दिने ?

काठमाडौं १४ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारसँग उपसभामुख नमागेको बताएका छन् ।

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, “हाम्रो पार्टीले सभामुख मागेको छैन । नमागे पनि दिने ? राजपाको सन्दर्भमा सरकारको दृष्टिकोण के हो ? हामी पार्टीमा छलफल गर्छौं ।”

यादवले संविधान संशोधन अघि बढाए राजपाले सरकारलाई नै समर्थन गर्ने बताए ।

सरकारले लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक नगरेको र कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलगायत २५ जना अझै जेलमा रहेको बताउँदै सरकारले यी विषयमा धारणा सार्वजनिक गर्न माग गरे ।

संविधान संशोधनलगायत राजपाले उठाएको मागको सम्बोधन गर्छौं भनेर सहमति गरे पनि एक वर्षसम्म कुनै सुनुवाइ नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले सम्झाए ।

“एक वर्षसम्म सरकारले हाम्रो मागको सम्बोधन गरेन । हामीले ज्ञापनपत्र दियौं । सुनुवाइ भएन । हामीले सरकारलाई दिएको समर्थन फिर्ता लियौं र हामी तिनै मागको अडिग छौं । हामीले एक वर्ष कुर्‍यौं । समाजवादी पार्टीले एक वर्षसम्म कुर्‍यो ।

त्यसकारण देशमा अहिले पनि द्वन्द्व छ । द्वन्द्वको अन्त्य गर्ने हो भने संविधान संशोधन प्रक्रिया अघि बढोस् । संविधानका राम्रा पक्षलाई संस्थागत गर्न हामी तयार छौं । संशोधन गरेर संविधानलाई पूर्णता दिऔं । हामी सरकारका लागि होइन माग र मुद्दाका लागि बनेको पार्टी हो ।”

माग र मुद्दा सम्बोधन भयो भने सबै मुद्दामा सहयोग समर्थन गर्न र सरकारमा सहभागी हुने बताए ।

उनले कसैलाई एकवर्ष, कसैलाई १८ महिनासमर्थन गराउने मुद्दा सम्बोधन नगर्ने सरकारको नियत के हो भनेर प्रश्न पनि गरे । बाह्र खरीबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।