काठमाडौँ ६ माघ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा सभामुख चयनको प्रक्रिया अघि बढ्ने भएको छ ।
सोमवार बसेको प्रतिनिधिसभा बैठकमा छोटो मन्तव्य दिँदै तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा गरेकी थिइन् ।
तुम्बाहाङ्फेको राजीनामापछि संसद ज्येष्ठ सदस्यले चलाउने संवैधानिक प्रावधान छ । ७३ वर्षका महन्थ ठाकुरले सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको अध्यक्षका गर्नेछन् ।
नेपालको संविधान २०७२ धारा ९१ उपधारा ५ मा संसदमा सभामुख र उपसभामुख नभएको अवस्थामा प्रतिनिधिसभा बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ ।
तुम्बाहाङ्फेले राजीनामा दिएपछि संसद बैठक सोमवार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभाको अध्यक्षता गर्न ठाकुरले राष्ट्रपतिबाट शपथ लिनुपर्ने हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि ठाकुरले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् । ठाकुरले राष्ट्रपतिबाट शपथ लिएका छन् ।
ठाकुरले यसअघि पनि प्रतिनिधिसभा बैठकको अध्यक्षता गरिसकेका छन् । २०७४ फागुन २० गते ठाकुरले राष्ट्रपतिबाट शपथ ग्रहण गरेका थिए । उनले त्यतिबेला अध्यक्षता गरेको प्रतिनिधि सभाको बैठकले सभामुखमा कृष्णबहादुर महरालाई निर्वाचित गरेको थियो ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ठाकुर महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । लोकान्तरबाट