काठमाडौं १९ पुस । नेपाल प्रमुख अन्नबाली धान उत्पादनमा यस वर्ष भारी गिरावट आउँदा यसले राष्ट्रिय अर्थतन्त्रमा नै नराम्रो धक्का पुग्ने देखिन्छ ।
धानको उत्पादन घटेकाले कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा समेत असर पर्ने भएकाले अर्थतन्त्रमा धक्का पुग्ने विज्ञहरूको धारणा रहेको छ ।
गत वर्ष कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव ५९ प्रतिशत थियो । आर्थिक सर्वेक्षण २०७५/७६ मा भने कूल कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान २६ दशमलव ९८ प्रतिशत पुग्ने अनुमान थियो । कृषि क्षेत्रको प्रमुख खाद्यान्न बाली धान उत्पादनले कूल गार्हस्थ्य उत्पादनमा १२ प्रतिशत हिस्सा ओगटेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष गत वर्षभन्दा १ दशमलव ०५ प्रतिशतले धान उत्पादनमा गिरावट आएको जनाएको छ । मन्त्रालयका अनुसार उत्पादन घट्नुमा समयमा वर्षा नहुनु, खेतीयोग्य जमिन खण्डीकरण हँुदै जानु, तराई क्षेत्रमा डुबान हुनु, पर्याप्त मात्रमा सिँचाइ सुविधा नपुग्नु र युवा वर्ग खेती किसानी कार्यबाट पलायन हुनुलाई जनाएको छ ।
गत आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष भने सो उत्पादनमा १ दशमलव ०५ प्रतिशतले उत्पादन घट्न गई ५५ लाख ५१ हजार मेट्रिक टनमा सीमित हुन पुग्यो । यसका कारण ५९ लाख मेट्रिक टन धान उत्पादन घटेको भए पनि जनसंख्या भने बढ्दै गएको छ ।
विक्रम संवत् २०६८ सालको जनगणनालाई आधार मान्दा नेपालीका लागि झण्डै ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ ।
कृषि गणना २०६८ ले नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको उल्लेख छ । त्यसमा धानको योगदान १२ प्रतिशत छ । नेपालको प्रमुख खाद्यन्न बाली धान भएपनि गत वर्ष लगभग रु २८ अर्बको चामल आयात गरेको थियो । नेपालमा चैते, बर्खे र घँैया धानको खेती हुँदै आएको छ ।
आव २०६०/६१ देखि २०७४/७५ सम्मको तथ्यांकलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मौसम मुख्य कारक देखिन्छ । मौसम अनुकूल भएको वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम प्रतिकूल भएमा धानको उत्पादन घटेको छ ।
नेपालमा कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कूल खेतीयोग्य जमिनमध्ये लगभग ५० प्रतिशत जमिनमा धान खेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम (असार–साउन)मा वर्षा भएन भने सिफारिस भए जति जमिनमा धान रोपाइँ हुन सक्दैन ।
नेपालमा २०६०/६१ देखि २०७४/७५ अर्थात् १५ वर्षमा सबैभन्दा धेरै धान खेती भएको वर्ष २०६०/६१ साल हो । सो वर्ष १५ लाख ५९ हजार ४३६ हेक्टर जमिनमा धान खेती भएको थियो । उक्त वर्ष ४४ लाख ५५ हजार ७७२ मेट्रिक टन धान फलेको थियो ।
त्यसको ११ वर्षपछि सबैभन्दा कम २०७२/७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमिनमा धान खेती भएको थियो । सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । पन्ध्र वर्षको अवधिमा सबैभन्दा धेरै धान फलेको वर्ष २०७३/७४ साल हो । उक्त वर्ष ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो ।
प्रत्येक वर्ष धान खेती गर्ने जमिन घटिरेहेको छ । आव २०६०/६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धान खेती भएको थियो । पन्ध्र वर्षपछि २०७४/७५ मा १४ लाख ६९ हजार ५४५ हेक्टर जमिनमा सीमित हुन पुग्यो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले धान खेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्यांकअनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।
वरिष्ठ धान विशेषज्ञ भोलामान सिंह बस्नेतका अनुसार नेपालीलाई लगभग वार्षिक ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको ‘सुपर जोन’ घोषणा गरी लागू गरेको छ ।
हिमालपारिका २ जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्यांकलाई विश्लेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी ५ वर्षभित्र धानको उत्पादन दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ । आगामी ५ वर्ष अर्थात् विक्रम संवत् २०७८/७९ मा नेपालले १ करोड ४ लाख मेट्रिक टन धान उत्पादन गर्नुपर्छ । लोकान्तरबाट