कांग्रेस सभापति शेरबहादुर देउवाले भारतले जारी गरेको नक्साको विषयमा सरकारले चासो नदिएको आारोप लगाएका छन् । नेपाल प्रेस युनियन नवलपुर शाखाले शुक्रबार आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले भारतले जारी गरेको नक्साको विषयमा सरकारले भारतीय पक्षसँग कुनै ठोस छलफल गर्न नसकेको बताए ।
‘सरकार आफैँले कूटनीतिक रूपमा सीमा विवाद समाधान गर्न भारतसँग पहल गर्नुपर्ने हो,’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘सारा नेपाली जनता र कांग्रेसले समेत समर्थन गरेको अवस्थामा पनि सरकार मुकदर्शक भएर बसेको छ ।’ आफू प्रधानमन्त्री हुँदा भारतसँग गरिएको महाकाली सन्धिमा महाकाली नदीपूर्वको भाग स्पष्ट रूपमा नेपालको भनेर लेखिएको र कालापानी, लिपुलेक र लिम्पियाधुरा कालीपूर्व पर्ने भएकाले भारतले जारी गरेको नक्साको कुनै अर्थ नरहेको देउवाको भनाइ थियो ।
