काठमाडाैं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सहमति जुट्न सकेको छैन । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि आज पनि दुई शिर्ष नेताबीच छलफल हुने बताइएको छ ।
तत्कालीन एमाले र तत्कालीक माओवादीको तर्फबाट कसलाई राख्ने र कसलाई हटाउने भन्ने विषयमा मदभेद देखिएको हो । दुई शिर्ष नेताबीच नै मदभेद देखिएपछि अब मन्त्रिमण्डल पुनर्गठन विषय लम्बिने देखिएको छ ।
प्रधानमन्त्री ओलीले खानेपानी मन्त्री विना मगर, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चत्रपाणि खनाललाई हटाउने प्रस्वाव गरेका थिए । प्रधानमन्त्री ओलीले हटाउन प्रस्ताव गरेका सबै मन्त्री तत्कालीन माओवादीका हुन् ।
तत्कालीन एमालेका तर्फबाट पनि ओलीले केहि मन्त्री हटाउने तयारी गरिएको बुझिएको छ । तर सोमबारको बैठकमा प्रचण्ड सहमत नभएपछि बैठक बिना निष्कर्ष उठेको थियो । दुबै शिर्ष नेताले आ- आफ्ना पक्षका नेताहरुसंग छलफललाई तिब्र पारिएको बुझिएको छ ।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वर्षमान पनु, जनार्दन शर्मा लगायतका नेताहरु प्रचण्ड खेमामा रहेर छलफललाई तिव्र पारेको बुझिएको छ भने ओलीले आफ्ना सचिवालयका सदस्यहरुसंग छलफल गरिरहेका छन् ।
आज पनि दुबै अध्यक्ष आफ्नो अडानबाट टसमस नहुने हो भने आज पनि सहमति जुट्न मुस्किल रहेको नेताहरु बताउँछन् ।दैनिक नेपालबाट