नेपाल पोस्ट दैनिक बिशेष · पत्रपत्रिकाबाट · विचित्र संसार · समाचार

अविरल वर्षाका कारण भीरबाट ढुङ्गा खस्दा घर पूर्ण रूपमा क्षतिग्रस्त

विनोद अविरल, सिरहा २९ साउन। अविरल वर्षाका कारण भीरबाट ढुङ्गा खस्दा डोल्पाको मुड्केचुला गाउँपालिका–७, सर्मी माथिल्लो गाउँमा एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
घटनामा घरमा बस्दै आएका दुई जना बालिका दिदीबहिनी भने सकुशल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार साउन २९ गते दिउँसो करिब १ बजेको समयमा घरनजिकै रहेको भीरबाट अविरल वर्षाका कारण ठूलो ढुङ्गा खसेर घरमा क्षति पुगेको हो ।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सर्मीबाट प्रहरी सहायक निरीक्षक उत्तमबहादुर बोहोराको कमाण्डमा चार जनाको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो ।
ढुङ्गा खस्दा घर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।
उक्त घरमा बस्दै आएका दुवै बालिका सुरक्षित अवस्थामा रहेका छन् । हाल उनीहरू आफ्नी फूपुको घरमा सुरक्षित रूपमा बसिरहेका छन् ।
घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा बालिकाहरूका लत्ताकपडा तथा अन्य भौतिक सामग्री सुरक्षित स्थानमा सार्न सहयोग गरेको थियो । साथै, प्रहरीले स्थानीय बासिन्दालाई वर्षायाममा भीर तथा पहिरोको जोखिमबाट सुरक्षित रहने उपायबारे समेत जानकारी गराएको छ ।
अविरल वर्षाका कारण पहाडी तथा भीरालो क्षेत्रमा ढुङ्गा खस्ने, पहिरो जाने तथा सडक तथा बाटो अवरुद्ध हुने सम्भावना बढेकाले जिल्ला प्रहरी कार्यालय डोल्पाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
स्थानीय प्रहरी तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्दै सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन पनि प्रहरीले सबैमा अनुरोध गरेको छ ।