जनकपुर, ३० कार्तिक । चाँदीका गरगहना र नगद सात लाख भन्दा बढी रूपैयाँसहित सिरहाका एक यूवकलाई सशस्त्र प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा आज दिउसो सशस्त्र प्रहरीले सिरहाका अजय गुप्तालाई पक्राउ गरेको हो ।
गुप्ताको साथबाट ६ किलो चाँदीका गरगहना र ७ लाख ३० हजार १ सय रूपैयाँसहित गुप्तालाई पक्राउ गरिएको धनुषाका सशस्त्र एसपी राजेश उप्रेतीले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाबाट पक्राउ परेका गुप्ता सिरहाको रहेको भनिएपनि यकिन पहिचान खुलाएको छैन् ।
एसपी उप्रेतीका अनुसार गुप्ता जिउमा कपडा बेरेर नगद र चाँदी लुकाएका थिए । पक्राउ परेपछि रूपैयाँ र चाँदी सहित उनलाई आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयलाई बुझाएको छ ।