मधेसलाई मुख्य केन्द्र बनाएका सत्तारुढ समाजवादी पार्टी नेपाल र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले उपनिर्वाचन अगाडि नै पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन्।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि चुनावी तालमेल गर्दै कात्तिकभित्रै पार्टी एकता गर्ने सहमति बनेको समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले बताए।
‘हामी दुबै पार्टी छिटो भन्दा छिटो एकता टुङ्ग्याउने गरी छलफलमा छौं’, श्रेष्ठले बुधबार नेपालखबरसँग भने।
श्रेष्ठका अनुसार समाजवादी–राजपा एकता झण्डै एमाले र माओवादी केन्द्र एकताकै मोडेलमा हुनेछ अर्थात पहिला चुनावी तालमेल अनि पार्टी एकता।
निर्वाचन आयोगले बिहीबारका लागि उम्मेदवार मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरेका कारण पहिला चुनावी तालमेलको सहमति गरेर पार्टी एकता गर्ने निष्कर्षमा समाजवादी–राजपा पुगेका हुन्।
समाजवादीले राजपासँग चुनावी तालमेलको विषय टुंगो लगाउन उपाध्यक्षहरू लालबाबु राउत, कुमारी यादव, रामसहाय प्रसाद यादव र विजय यादवलाई जिम्मेवारी दिएको छ। राजपाका अध्यक्ष मण्डलका नेताहरूसँग उनीहरूको बैठक बुधबार रातीसम्म पनि बसिरहेको थियो।
काठमाडौंमा हालै बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि चुनावी तालमेल गर्ने, संघीय परिषद् बैठकको तयारी गर्ने र पार्टी एकताको विषय टुंगो लगाउने निर्णय गरेको थियो। सोही बैठकले चुनावी तालमेल र उम्मेदवार चयन गर्ने अधिकार चार जना उपाध्यक्षलाई दिएको हो।
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राजपाका उच्च नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेपछि बुधबार फेरि पदाधिकारी बैठक बसेको हो।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारी मनोनयन बिहीबारलाई तोकेको छ। स्थानीय तहको हकमा भने २७ गतेमात्रै उम्मेदवारी मनोनयन गर्न मिल्ने भएकाले बुधबार रातीसम्म वा बिहीबार बिहानसम्म चुनावी तालमेलको घोषणा गर्ने सहमति बनेको समाजवादीका महासचिव श्रेष्ठले बताए।
राजपाका एक नेताले त्यो सम्भावना स्वीकार गर्दै बुधबार दिनभर बसेको बैठकले त्यस्तो सहमति गरेको खुलाए।
पार्टी एकताका लागि नीतिगत सहमति बनेको बताउँदै ती नेताले भने, ‘एकता गरेर बैकल्पिक पार्टी बनाउन राजपाका उच्च नेताहरू सहमत हुनुहुन्छ, नेतृत्व सञ्चालन प्रणालीका विषयमा एक दुई दिनमा सहमति जुट्ने छ।’
महासचिव श्रेष्ठका अनुसार चरण–चरणका छलफलबाट पार्टी एकता गर्ने निर्णय भएको हो।
‘एकता गर्ने निर्णय भयो तर, कहिलेकाहीँ ९९ प्रतिशत भएको निर्णय पनि बिग्रन सक्छ’, श्रेष्ठले भने, ‘हामीले एकताको प्राविधिक विषय भने टुंगो लगाइसकेका छौं।’
मंगलबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले समाजवादीसँग चुनावी एकता गर्ने निर्णय गरेको थियो।
राजपाका महासचिव केशव झाले कात्तिकभित्रै समाजवादीसँग पार्टी एकता गर्ने गरी छलफल तीब्र बनाइएको बताए।
‘आइतबारदेखि बुधबारसम्म भएका छलफलहरू सकारात्मक छन्, तपाईंले यही कात्तिक महिनामै सुखद खबर सुन्नुहुनेछ’, झाले बुधबार नेपालखबरसँग भने।
राजपाले समाजवादीसँग चुनावी तालमेल गर्ने निर्णय गरेर पार्टी एकताका लागि बाटो खोलेको उनको दाबी छ।
एकतापछिको नेतृत्वको व्यवस्थापनदेखि सबै विषय प्याकेजमै टुंगो लगाउने समझदारी बनेपनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ।
माजवादी पार्टीले कात्तिक २८ गते संघीय परिषदको बैठक बोलाएको छ, जसको मुख्य एजेण्डा राजपासँग पार्टी एकता रहेको महासचिव श्रेष्ठले बताए।
चुनावी तालमेल भएपछि प्याकेजमै सहमति गरी एकता घोषणा हुनसक्ने महासचिव झा बताउँछन्।
३७ जिल्लाका ५२ पदका लागि हुने उपनिर्वाचनमा पार्टी एकताको प्रक्रिया नै अघि बढेपछि राजपासँग नै तालमेल गर्ने निष्कर्षमा समाजवादी पुगेको हो।
एमाले र माओवादी केन्द्रले २०७४ असोज १७ गते चुनावी तालमेल गर्दै २०७५ जेठ ३ गते पार्टी एकता घोषणा गरेका थिए।
आम निर्वाचन अघि दुई कम्युनिष्ट पार्टीको चुनावी तालमेलले जसरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्ने आधार तायर गरेको थियो त्यही मोडेलमा उपनिर्वाचन अघि समाजवादी–राजपाले एकताको आधार बनाएका हुन्।नेपाल खबरबाट