काठमाडौँ, २३ असोज । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ ।
उच्च रक्तचापको समस्या देखिएपछि महरालाई बिहीबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
महराको बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानसमेत लिइएको थियो । उनलाई सरकारी वकिल कार्यालयबाट अस्पताल लगिएको हो ।
हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । अक्सिजनको पनि व्यवस्था गरिएको थियो ।
महरालाई बुधबार रातिदेखि समस्या र छातिमा समस्या भएपछि अस्पताल लगिएको परिवारका सदस्यहरुले जनाएका छन् । महरलाई अहिले अस्पतालमा इसिजी गरिएको छ ।
उनलाई सिंहरवार प्रहरी वृत्तिको हिरासतमा राखिएको थियो । महरामाथि संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ ।