राजबिराज , १४ भदौ। मधेसका जिल्लाहरुमा चौठीचाँन अर्थात् चौरचन पर्वको रौनक सुरु भएको छ । श्रद्धापूर्वक मनाइँने उक्त पर्वको लागि अहिले हाटबजार भिड देखिएको छ ।
हरेक परिवारबाट एक महिलाले दिनभर निराहार रही साँझ चन्द्रमालाई विविध पकवानका साथ फल एवं दही अर्पण गर्ने परम्परा छ । चौरचन पर्व आँगनमा गरिन्छ, बिहानै लिपपोत गरी घर आँगन पवित्र बनाइन्छ । साँझपख आँगन लिपपोत गरेको ठाउँमा दहीको मटकुरी, फलफूल, खिर, पुरी, केरा मिष्ठानका साथै धूप, फूल चन्दन आदि सजाइन्छ ।
सप्तरीको राजबिराज,कल्याणपुर ,कुशहा ,पातो ,भारदह ,रुपनी ,कठौना,कंचनपुर ,फत्तेपुर तथा जिल्लाका ग्रामिन भेगमा माटोबाट बनाएको मटकुरीहरु ,दिया आदि किन्नेहरुको भिड देखिएको हो । त्यसैगरी सिरहाको लहान बजारमा पनि भक्तजनहरु भिड देखिएको छ ।
पूजा सामग्री सजाइसकेपछि परिवारका सबै सदस्यले हातमा फल लिई चन्द्र दर्शन गर्छन् भने जेष्ठ महिलाले अरिपनमा राखिएका मटकुरी तथा डालीहरू पालैपालो उठाई अर्घ दिन्छिन् ।
अर्घपछि परिवारका पुरुष सदस्य पूजामा राखिएको प्रसाद ग्रहण गर्छन् त्यसपछि परिवारका अन्य सदस्यले खानपान गर्ने चलन छ ।