नयाँदिल्ली, ५ भदाै । भारतीय प्रहरीले कंग्रेस नेता तथा पूर्व केन्द्रीय मन्त्री पी. चिदम्बरमलाई बुधवार राति घरबाट पक्राउ गरेको छ ।
उनीमाथि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ । उनले अग्रिम धरौटीमा छुट्न पाउनुपर्ने यो माग गरी दिल्ली उच्च अदालतमा अनुरोध गरेका थिए। अदालतले उनको माग अस्वीकार गरेको थियो। त्यसलगत्तै उनी फरार भएका थिए ।
उनलाई पक्राउ गर्न सीबीआईको टोली बुधवार तीनपटक उनको घरमा पुगेको थियो। त्यहाँ उनी थिएनन् ।
प्रहरीले चिदम्बरमका विरुद्ध सूचना जारी गरेको थियो। उनलाई स्थल, जल, हवाई मार्गमा रोक्न भनिएको थियो ।
उनलाई अनुमतिविना देशबाहिर जान रोक्न सबैलाई अनुरोध गरिएको थियो। चिदम्बरमलाई उनको ठेगानामा फेला पार्न नसकेपछि यस्तो अनुरोध गर्नुपरेको अनुसन्धानमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका थिए ।
चिदम्बरमका पुत्र कार्ति चिदम्बरमले उक्त अवैध रकमबाट स्पेनमा टेनिस क्लब र बेलायतमा घर क्निनुका साथै विभिन्न ठाउँमा सम्पत्ति खरिद गरेको खुलासा भएको थियो। यसै विषयमा उनलाई थप सोधपुछ गर्न हिरासतमा लिनु परेको हो ।
साँझ एक्कासि कंग्रेसको पार्टी कार्यालय पुगेर आफूलाई भाजपा सरकारले फसाउन खोजेको भन्दै सञ्चारकर्मीलाई भेटेका थिए। त्यसलगत्तै उनी घर फर्किएका थिए ।
सीबीआईको टोली राति घरमा पुगेको थियो। झ्यालढोका सबै बन्द गरिएपछि सीबीआईको टोली बल प्रयोग गरी घरभित्र प्रवेश गरेको थियो र नियन्त्रणमा लिएको थियो ।
सरकारले आफ्ना नेतामाथि अनुसन्धान गर्न खोजेपछि कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी तथा महासचिव प्रियंका गान्धीले विरोध गरेका छन्। भारतीय जनता पार्टीको सरकारले राजनीतिक प्रतिशोध लिन चिदम्बरममाथि आरोप लगाएका छन् ।
आफ्नो पोल खुल्ने डरले केन्द्र सरकारले उनलाई फसाउन खोजेको उनीहरूको भनाइ छ। अर्का नेता शशि थरुरले पनि मोदी सरकारले चिदम्बरमलाई तर्साउन खोजेको आरोप लगाएका छन् ।दैनिक नेपाल