प्रदेश ३ · मुख्य समाचार

बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या ६५

काठमाडौं- लगातार परेको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार सोमबार बिहानसम्ममा २४ महिला र ४१ पुरूष गरेर ६५ जनाको बाढीपहिरोमा परि मृत्यु भएको हो । मृतक ६५ मध्ये ४८ जनाको सनाखत भएको छ ।

यस्तै अहिलेसम्म ३० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बाढीपहिरो र डुबानमा परेर ३८ जना घाइते भएका छन् । जसमा १७ महिला र २१ पुरुष छन् । बाढी र पहिरोबाट अहिलेसम्म सुरक्षाकर्मीको टोलीले एक हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी पहिरो र डुबानका कारण विशेषगरी मध्य तराईको जनजीवन अत्याधिक प्रभावित भएको छ । वर्षाको क्रम अझै जारी रहेकाले बाढी र डुबानको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । डुबान प्रभावित क्षेत्रमा राहत वितरण गर्न समेत सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।