काठमाडौं, १० असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालसहितका नेताहरू डेनमार्कको कार्यक्रममा सहभागी हुन गएपछि आलोचना भएको छ ।
पार्टीले राष्ट्रिय जागरण अभियान चलाइरहेका बेला कांग्रेसका नेताहरू जिल्लामा गएर कार्यकर्ता प्रशिक्षण दिनुको ठाउँमा डेनमार्कमा गएर सम्मेलनमा भाग लिनुलाई धेरैले अनौठो मानेका छन् । डेनमार्ककाे भेला असफल भएकाे कांग्रेसकै नेताहरूले बताएका छन् ।
डेनमार्कको कोपनहेगनमा नेपाली कांग्रेसको तीनदिने प्रशिक्षण भेला सकिएको छ । कोपहेगनको भेस्टरपोर्टमा अवस्थित रिचमण्ड होटलमा तीन दिनसम्म चलेको भेलामा विश्वभरबाट २४ जनसम्पर्क समितिका २ सय बढी प्रतिनिधिले भाग लिएको दाबी गरिएको छ ।
‘विदेशमा रहेका नेपालीहरूलाई प्रशिक्षण दिएर नेपाली कांग्रेसले के पायो ?’, नेपाली कांग्रेसका एक जना केन्द्रीय सदस्यले भने, ‘डेनमार्क जानुभन्दा जिल्लामा गएर कार्यक्रम गरेको भए धेरै राम्रो हुने थियो ।’
विदेशमा रहेका कांग्रेसका शुभेच्छुकहरू निर्वाचनका बेला भोट हाल्न पनि आउँदैनन् । विदेशमा घरजम गरेर बसेका ती नेपालीहरूबाट नेपाली कांग्रेसले कसरी फाइदा पाउने हो धेरैलाई थाहा छैन ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको थियो ।
भेलामा पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका साथै कांग्रेस नेताहरू डा.रामशरण महत, डा.मीनेन्द्र रिजाल, भीष्मराज आङ्गदम्बे, धनराज गुरुङ, गोविन्द भट्टराई लगायतका नेताहरुले सहभागिता जनाएका थिए ।
डेनमार्कमा भएको खर्च डेनिस सरकारले पनि सहयोग गरेको स्रोतले जनाएको छ ।
नेपालमा क्रिश्चियन धर्म प्रचारका लागि ठूलो लगानी गर्दै आएको डेनमार्कले नेपाली कांग्रेसका नेताहरूलाई जनसम्पर्क समितिको बहानामा बोलाएर आफ्नो उदेश्य पूरा गरेको चर्चा छ ।
देशभित्र भइरहेका राजनीतिक कार्यक्रमलाई बिथोल्ने गरेर कांग्रेस नेताहरू डेनमार्क गएकोमा सभापति शेरबहादुर देउवा पनि खुसी छैनन् ।
केही नेताहरू राष्ट्रिय जागरण अभियानको प्रतिवेदन नै नबनाइ डेनमार्क गएको खुलेको छ ।दैनिक नेपालबाट