खेलकुद

भारतले नेपाललाई १० विकेटले गरे पराजित

काठमाडौं, १८ भदौ ।  सोमबार श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको एसिया कप खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको थियो । वर्षाको कारण डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य दिइएको थियो ।

भारतले विना क्षति २०.१ ओभरमा लक्ष्य पूरा गर्‍यो । योसँगै भारत समूह ‘ए’बाट तीन अंकसहित एसिया कपको सुपर फोरमा पुगेको छ । यसअघि समूह ‘ए’ बाट तीन अंकसहित पाकिस्तान सुपर फोरमा पुगिसकेको छ ।

पाकिस्तानले नेपाललाई पराजित गरेको थियो भने भारतसँग अंक बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक-एक अंक बाँडेका थिए ।

जारी एसिया कपमा पाकिस्तान र भारतसँग पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले पहिलो पटक एसिया कप खेलेको हो ।