शम्भु चौधरी लहान १६ बैशाख । सिरहाको धनगढीमाई नगरपालिका ६ बसनपुरमा जनमत पार्टीको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सोमबार सम्पन्न भएको छ।
पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउत प्रमुख अतिथिको रूपमा रहनु भएको थियो। प्रमुखअतिथि राउतका अनुसार हामी कम समयमा धेरै उपलब्धी गरि सकेका छौ तर पनि संघर्ष गरिहरनु पर्ने देखिन्छ ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले पार्टी स्थापना भएको पाँच वर्षमै मधेस प्रदेशमा सरकार गठन गरी जनमत पार्टीले महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्नुभयो। उहाँले आउने दिनमा जनमत पार्टी मधेसमा सबैभन्दा बलियो शक्ति बन्ने दाबी समेत गर्नुभयो।
आमसभामा वन तथा वातावरण मन्त्री त्रिभुवन साह, पूर्व मन्त्रीहरू महेश यादव र संजय यादव, साथै नेता बालेश्वर यादव, सुभाष चौधरी, रमेन मण्डल, खुशबु जेसवाल, दिलीप दास, इन्द्र देव महतो, सन्तोष महतो लगायत सयौं शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रमको नेतृत्व गरेका स्थानीय नेता प्रदीप महतोले जनमत पार्टीमा प्रवेश गर्नेहरूको ओइरो लागेको जनाउँदै, जहाँ जनमत पार्टीको सरकार छ त्यहाँ जनताको पक्षमा उत्कृष्ट काम भइरहेको दाबी गर्नुभयो।
कार्यक्रम प्रदीप महतोको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी हजारौं नेता तथा कार्यकर्ताले जनमत पार्टीमा प्रवेश गरेका छन्।
कार्यक्रम जिल्ला ईन्चार्ज विनोद यादवको अध्यक्षतामा सुरु भएको थियो ।