सप्तरी सम्वादाता २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु भएको छ । लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारका कारण सो घटना घटिएको हो । घटनामा फर्मका सञ्चालक ४४ वर्षीय प्रथमलाल धामी पक्राउ परेका छन्।
प्रहरीका अनुसार धामीले सञ्चालन गरेको पोल्ट्री फर्ममा सन्तकुमार धामीका २ वर्षीय छोरा प्रतिक धामी कुखुरा हेर्न गएका बेला फर्ममा जथाभावी राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लाग्दा गत साउन २ गते उनको मृत्यु भएको थियो।
पक्राउ परेका फर्म सञ्चालक धामीविरुद्ध सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जनाएको छ।
घटनापछि मृतकका बुवाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
